पदाधिकारीमा यस्तो छ ओली टिम,दोहोरिए केही,बस्नेत सचिवमा

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली समूहबाट पदाधिकारीका नाम करिब टुंगो लगाइएको छ । ओली यसपालि पनि अध्यक्षको उमेदवार बन्दै छन् । ओली समूहबाट उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा, गुरु बराल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीको नाम टुंगो लगाइएको स्रोतले जानकारी दिएको छ । पौडेल, थापा र बराल १०औँ महाधिवेशनबाट पनि उपाध्यक्ष बनेका थिए । महासचिवमा शंकर पोखरेललाई निरन्तरता दिइएको छ । उनलाई पनि महासचिवमा दोहोर्‍याइएको हो । उपमहासचिवमा विष्णु रिमाल, रघुवीर महासेठ र भानुभक्त ढकालको नाम तय गरिएको ओलीनिकट स्रोतले जानकारी दिएको छ । यस्तै, सचिवमा लेखराज भट्ट, छविलाल विश्ववकर्मा, पद्मा अर्याल, खगराज अधिकारी, यमलाल कँडेल, शेरधन राई, हिक्मत कार्की, राजन भट्टराई र महेश बस्नेतको नाम तय गरिएको छ । भट्ट, विश्वकर्मा र अर्याल १०औँ महाधिवेशनबाट पनि सचिव बनेका थिए ।
निर्वाचन कार्यक्रम
एमालेको नयाँ नेतृत्व चयनका निम्ति निर्वाचन तालिका प्रकाशन भइसकेको छ । आइतबार (मंसिर २८) साँझ जारी कार्यतालिकाअनुसार, आज (मंसिर २९) बिहान ८ देखि ९ बजेसम्म मतदाता नामावलीउपर दाबी विरोध र सुधारको सूचना प्रकाशन गरिनेछ । बिहान १० बजे दाबी विरोधउपचार छानबिन र निर्णय गर्ने कार्यतालिका छ । १०ः१५ बजे अन्तिम नामावली प्रकाशन, ९ देखि मध्याह्न १२ बजेसम्म उमेदवारको दर्खास्त फाराम वितरण गर्ने कार्यतालिका छ । बिहान १०ः३० देखि १ः३० बजेसम्म उमेदवारको दर्खास्त फाराम दर्ता, दिउँसो २ः३० बजे उमेदवारको प्रारम्भिक नामावली प्रकाशन, दिउँसो २ः३० देखि ३ः३० बजेसम्म उमेदवारको विरोधमा उजुरी दिने कार्यतालिका छ । दिउँसो ३ः१० बजे उजुरीउपर छानबिन र निर्णय, दिउँसो ३ः१० देखि अपराह्न ५ बजेसम्म उमेदवारको नाम फिर्ता र बेलुका ६ बजे उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । निर्वाचन कार्यतालिका अनुसार, पुस १ गते बिहान ११ देखि बेलुका अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *