मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधि सभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधि सभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताएकी छिन् । प्रधानमन्त्री कार्कीले इलाम क्षेत्र नं २ का निवर्तमान सांसद सुहाङ नेम्बाङ नेतृत्वको एक प्रतिनिधिमण्डलसँग सिंहदरबारमा भएको भेटमा यो सरकार चुनाव गराउनैका लागि आएकाले अब कुनै दुविधा नराखी चुनावको तयारी गर्न पनि आग्रह गरिन् । ‘हामी चुनाव गराउनै लागिरहेका छौं । असामान्य अवस्थामा शान्ति स्थापना र चुनाव गराउनकै लागि आएका हौं । शान्ति स्थापना र कानुनको शासन बहालीमा सफलता मिलेको छ,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘अबको हाम्रो लक्ष्य चुनाव गराउने हो । चुनाव भए मात्र मुलुकमा अब दिगो शान्ति र स्थायित्व सुनिश्चित हुन्छ ।’ नेम्बाङले प्रधानमन्त्री कार्कीलाई चुनाव गराउन सफलता मिलोस् भनेर शुभकामना पनि दिए । ‘हाम्रो शुभेच्छा छ, शुभकामना छ,’ उनले भने, ‘चुनाव गराउन सफल हुनुहोस् ।’ प्रधानमन्त्री कार्कीले नेम्वाङसँग चुनावमा उठ्ने तयारी के छ ? भनेर पनि जिज्ञासा राखेकी थिइन् । प्रतिक्रियामा नेम्वाङले चुनावको तयारी गरिरहेको बताएको उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री कार्कीले नेम्वाङलाई शुभकामना दिँदै अब युवा नै अघि सर्नुपर्ने धारणा राखिन् । ‘चुनाव हुन्छ । तयारी अवस्थामा रहनू । तपाईँहरूजस्तो युवा आउनुपर्छ र देशको बागडोर सम्हाल्नुपर्छ। अनि मात्र देशमा केही न केही हुन्छ । बाँसको कलमले अक्षर लेख्न सिकेकाहरुले स्मार्टफोनसँगै जन्मिएकाहरूमाथि शासन गरेर हुँदैन,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘पुरानाको अनुभव र सल्लाह काम लाग्ला तर चालक सिटमा युवा नै आउनुपर्छ । देश युवाले नै हाँक्नुपर्छ । युवामा साहस हुन्छ, ऊर्जा हुन्छ । उसले साहसिक पाइला पनि चाल्न सक्छ ।’ नेम्वाङले इलाममा बाढीपहिरोका कारण क्षतिग्रस्ता राजमार्ग र पुल पुनस्निर्माणमा तदारुकता देखाउनुपर्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण पनि गराए । प्रधानमन्त्री कार्कीले हालै भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले स्थलगत अवलोकन निरीक्षण गरी फर्किएको र यस विषयमा सरकार गम्भीर रहेको जानकारी दिइन् ।















