‘जेनजी’को मखुन्डो ओढेर देश नष्ट गर्नेमाथि कारबाही गरियोस् : रविलक्ष्मी चित्रकार
काठमाडौं । ‘जेनजी’ आन्दोलनका नाममा निवासमा आगजनी गरिँदा गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारले दोषीमाथि कडा कारबाहीको माग गरेकी छन् । लामो उपचारपछि स्वास्थ्यलाभ गर्दै स्वदेश फर्किएकी चित्रकारले उक्त घटनालाई हिटलरको ‘ग्यास च्याम्बर’सँग तुलना गरिन् । जेनजीको अबोध मखुन्डो लगाएर देश विध्वंस गर्नेहरूलाई सरकारले छिटै पहिचान गरी सजाय दिनुपर्ने उनले बताइन् । सोमबार (पुस ७) बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग उनले जेनजीको अबोधपनको मखुन्डो ओढेर देशलाई नष्ट गरिएको टिप्पणी गरिन् । “मैले किताबमा पढेको थिएँ, हिटलरको ग्यास च्याम्बर । त्यो ग्यास च्याम्बर म आफैँ परेँ र आज यो गति भयो,” उनले भनिन्, “जेनजी भाइबहिनीहरूको अबोधपनको मखुन्डो ओढेर जुन देशलाई नष्ट पार्न खोजे, उनीहरूलाई यो सरकारले छिटै चिनेर कारबाही गर्नुपर्छ । मेरो यही माग छ ।”
पूर्वप्रधानमन्त्री खनालले पनि पीडा व्यक्त गर्दै उपचार प्रक्रिया अझै पूरा नभएको बताए । उपचारको प्रक्रिया अझ अघि बढाउनुपर्ने आवश्यकता रहेको उनले उल्लेख गरे । घरसहित सबै जलाएर नष्ट गरिदिएपछि उपचारमा समस्या हुने उनले सुनाए । “हामीले अझ धेरै गर्न बाँकी नै छ । त्यो पनि उपचारकै प्रक्रिया हो । त्यो उपचारको प्रक्रियालाई अझै अगाडि बढाउनुपर्ने आवश्यकता छ,” उनले भने, “तर, अब हामीजस्तो मान्छे जसको जिलीगाँठी सबे जलाएर खरानी बनाइदिएको छ, कसरी उपचार गर्छौं होला ? यो प्रश्न हामीसँग अहिले पनि बाँकी नै छ । गएको भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा डल्लुस्थित खनाल दम्पतीको घरमा आगजनी गरिएको थियो । उक्त घटनामा रविलक्ष्मी गम्भीर घाइते भएकी थिइन् । घर पूर्ण रूपमा क्षति भएको थियो । उपचारका निम्ति भारत लगिएकी उनको स्वास्थ्य अवस्था क्रमिक रूपमा सुधारोन्मुख रहेको जनाइएको छ ।















