अध्यादेशका आधारमा शासन चलाउनु लोकतन्त्रका लागि घातक हुन्छ : अर्थमन्त्री खनाल
विराटनगर । आजबाट सुरु विराट ट्रेड एक्स्पो २०२५ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले अध्यादेशका आधारमा शासन चलाउनु लोकतन्त्रका लागि घातक हुने बताएका छन् । विराटनगरमा उनले वर्तमान सरकारसँग असिमित म्याण्डेट नभएकाले अध्यादेशको भरमा शासन चलाउने प्रवृत्ति लोकतन्त्रका लागि हितकर नहुने बताएका हुन् । ‘यो सरकारलाई असीमित म्याण्डेट छैन ।
कानुन संसद्को अनुपस्थितिमा बन्न सक्दैन र बनाउनु हुँदैन भन्ने मेरो लोकतान्त्रिक विश्वास हो,’ उनले भने, ‘मैले सधैँ भन्दै आएको छु अध्यादेशको आधारमा शासन चलाउनु हुँदैन, यसले लोकतन्त्रलाई बलियो बनाउँदैन र यो असल अभ्यास पनि होइन ।’ सीमित म्याण्डेट र संस्थागत अभावका बाबजुद पनि निजी क्षेत्रको आशालाई सम्बोधन गर्न सरकारले प्रयास गरिरहेको उनले बताए । निजी क्षेत्रले संकटका बेला देखाएको धैर्यता र पुनरुत्थान गर्ने क्षमताको प्रशंसा गर्दै उनले निजी क्षेत्र आफैं जुर्मुराएर अघि बढ्न खोज्नु सुखद् पक्ष भएको बताए ।















