देशका केही स्थानमा आज वर्षाको सम्भावना
काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना रहेको छ । मध्यमदेखि भारी वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलागायत बाँकी पहाडी भूभागमा साधारणतया बदली हुनेछ । बाँकी भूभागमा आंशिक बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थानमा र तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रहने बताएको छ । बाँकी भूभागमा आंशिक बदली रहनेछ । मधेस, कोसी, वाग्मती, गण्डकी प्रदेशका तराई र पहाडी भूभागमा थोरै र बाँकी भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको छ । तर, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम भने रहिरहेको छ ।