काभ्रेका पशुचौपायामा ‘लम्पी स्किन’ सङ्क्रमण

काभ्रेपलाञ्चोक। बनेपा नगरका केही वडामा पशुचौपायामा ‘लम्पी स्किन’ रोगको सङ्क्रमण देखिएको छ ।

बनेपाको वडा नं १२ र १४ का दुधालु गाईमा परीक्षण गर्दा रोग पुष्टि भएको काभ्रेपलाञ्चोक जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । कार्यालयका प्राविधिक तारामान तामाङका अनुसार धुलिखेल, पाँचखाल र मण्डनदेउपुरमा समेत सङ्क्रमणको शंका गरिएका पशु नमूनाहरू परीक्षणका लागि पठाइएको छ । विगत छ महिनादेखि काभ्रे र सिन्धुपाल्चोकका २५ स्थानीय तहमा लम्पी स्किनविरुद्ध खोप अभियान सञ्चालन गरिएको छ भने भदौको पहिलो हप्तामा सप्ताहव्यापी चेतनामूलक कार्यक्रम पनि सम्पन्न गरिएको थियो ।

नगर पशु सेवा शाखा प्रमुख चिरन्जिवी शर्माका अनुसार बनेपाको वडा नं ११ र १२ मा गाईमा रोग पुष्टि भएपछि वरपरका सबै गाईभैंसीलाई खोप दोहोर्याएर लगाइएको छ । पछिल्ला छ महिनामा मात्र बनेपाका १६ हजार पशुमा लम्पी स्किनविरुद्धको खोप लगाइएको उनले जानकारी दिए । गत वर्ष मात्र काभ्रेपलाञ्चोकमा २८ हजार ६५६ पशुमा लम्पी स्किन सङ्क्रमण भएको र तीमध्ये १ हजार २७४ पशु मृत्युवरण गरेको तथ्याङ्क जिल्ला पशु सेवा कार्यालयले सार्वजनिक गरेको छ । जिल्लाका केही स्थानीय तहले मृत पशु भएका किसानलाई राहत उपलब्ध गराएका थिए ।

नेपालमा पहिलो पटक २०७७ साउनमा मोरङमा यो रोग पुष्टि भएको थियो । त्यसयता सातै प्रदेशका विभिन्न जिल्लामा फैलिँदा दूध उत्पादनमा ठूलो ह्रास आएको विज्ञ डा. प्रकाश अधिकारीले बताए । उनका अनुसार सङ्क्रमित गाईभैंसीको दूध दिने क्षमता ७० प्रतिशतसम्म घट्ने गर्दछ । यो रोग देखापरेमा पशुमा ज्वरो आउने, दूध उत्पादन घट्ने, छालामा गोलो गिर्खा देखिने, मुख, ओठ र नाकभित्र घाउ हुने, आँखा–नाकबाट अत्यधिक रस झर्ने, लिम्फनोड सुन्निने लगायतका लक्षण देखिन्छन् । अन्त्यमा मृत्यु हुने सम्भावना पनि उच्च हुने उनले बताए ।

विशेषज्ञका अनुसार लम्पी स्किन रोग फैलाउने भाइरस लामो समयसम्म गोठमा सक्रिय रहन सक्छ । रोग लागेर मरेका पशुलाई तुरुन्तै गाड्ने वा जलाउने अनिवार्य हुन्छ । लामखुट्टे, किर्ना, भुसुनाजस्ता कीराले पनि रोगी पशुबाट स्वस्थ पशुमा रोग सार्ने भएकाले विशेष सतर्कता अपनाउन कार्यालयले किसानलाई आग्रह गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *