सहयात्री सहकारीद्धारा प्रहरी कार्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग
काठमाडौं । ‘समुदायप्रति चासो’ भन्ने सहकारीको सिद्धान्तलाई आत्मसात गर्दै सहयात्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धता देखाएको छ । यही क्रममा क्षतिग्रस्त काँडाघारी प्रहरी प्रभागलाई १ थान कम्प्युटर र प्रिन्टर सहयोग गरेको छ । जेन जी प्रदर्शनका क्रममा काँडाघारी प्रहरी प्रभाग पूर्ण रुपमा क्षतिग्रस्त बन्न पुगेको थियो । संस्थाले एक संक्षिप्त कार्यक्रमको बीच संस्थाका अध्यक्ष खेमराज सुवेदी तथा सञ्चालकहरु, कर्मचारी र सदस्यहरुको उपस्थितीमा प्रहरी कार्यालयलाई उक्त सामग्री हस्तान्तरण गरिएको संस्थाकी प्रमुख कार्यकारी अधिकृत जुना डाँगीले जानकारी दिईन् ।
सहकारीको यो पहलले प्रहरी कार्यालयलाई दैनिक कार्यसम्पादनमा सहजता ल्याउने विश्वास गरिएको उनले बताईन । जेन जी प्रदर्शनका क्रममा भएका दुःखद घटनामा परी ज्यान गुमाएका सहिद युवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौन धारण समेत गरिएको थियो । साथै शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति र साहस प्राप्त होस् भनी समवेदना व्यक्त गर्दै सबै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत संस्थाले गरेको छ । सहकारी केवल बचत र ऋण प्रवाह गर्ने संस्था मात्र नभई समाजसँगै उभिनुपर्ने सामुदायिक केन्द्र पनि भएको संस्थाको अध्यक्ष सुवेदीले बताए । ‘हामीले सुरक्षासँग सम्बन्धित संस्थालाई थप सक्षम बनाउन सानो योगदान गरेका हौं । यो संस्थाको सामाजिक उत्तरदायित्वको निरन्तरता हो, अध्यक्ष सुवेदीले भने।’ समुदायलाई फाइदा पुर्याउने काम गर्नु सहकारीको दायित्व समेत भएको उनले बताए ।