सिप्रदी ट्रेडिङको व्यापार २४ अर्ब बढी
काठमाडौं । सिप्रदी ट्रेडिङले सन् २०२५ मा २४ अर्ब बढीको सञ्चालन आम्दानी अर्थात् व्यापार गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले सार्वजनिक गरेको कम्पनीको वित्तीय विवरणका अनुसार सिप्रदीले सन् २०२५ मा २४ अर्ब ८ करोड ८० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो । जुन सन् २०२४ को तुलनामा ३० प्रतिशत बढी हो । यस कम्पनीले सन् २०२४ मा १८ अर्ब ५८ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो भने सन् २०२३ मा १८ अर्ब ३० करोड ४० लाख, सन् २०२२ मा २८ अर्ब ९५ करोड ५० लाख र सन् २०२१ मा २५ अर्ब ४१ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो । विगत पाँच वर्षको तुलनामा कम्पनीको व्यापार केही घटेको देखिए पनि गत वर्षको तुलनामा भने उल्लेख्य रुपमा बढेको हो । यो एक वर्षको अवधिमा कम्पनीको नाफा मार्जिन पनि बढेको छ । गत वर्ष २.२ प्रतिशतमात्रै रहेको नाफा मार्जिन सन् २०२५ मा २.७ प्रतिशत पुगेको हो । सन् २०२१ मा भने कम्पनीको नाफा मार्जिन ८.१ प्रतिशत थियो । देशकै सबैभन्दा ठूलो गाडी बिक्रेता कम्पनीको रुपमा परिचय बनाएको सिप्रदी नेपालमा टाटा गाडीको आधिकारिक बिक्रेता हो ।
नेपाली अटो बजारमा सिप्रदीको ठूलो बजार हिस्सा छ । कम्पनीको चालु पूँजी व्यवस्थापनमा उल्लेखनीय सुधार हुँदा तरलता स्थिति सुदृढ भएको रेटिङ एजेन्सी इक्रा नेपालले उल्लेख गरेको छ । नेपालको कमर्सियल भइकलको बजार ६० प्रतिशत बढीको हिस्सा राखेको सिप्रदीले देशभर आफ्नो सञ्जाल फैलाएको छ । कम्पनीले कमर्सियल भेइकलसँगै अन्य सवारीसाधन बिक्रीका साथै ब्याट्री, स्पेयर पाट्र्स, लुब्रिकेन्ट जस्ता गैर(वाहन वस्तुहरू पनि बिक्री गर्दै आएको छ । कम्पनीले १३ अर्ब ७५ करोड रुपैयाँ ऋणका लागि रेटिङ पनि गराएको छ । दीर्घकालीन ऋणका लागि एल डबल बीप्लस र अल्पकालीनका लागि एफोर प्लस रेटिङ पाएको छ । कम्पनीले सन् २०२५ मा कारोबार करिब ३० प्रतिशत बढाउँदा कमर्सियल भेइकल तर्फ भने ६९ प्रतिशतको वृद्धि गरेको छ । बैंकको ब्याजदर घट्दा र ऋण कम हुँदै जाँदा वित्तीय खर्च घटेको विज्ञप्तिमा उल्लेख छ । सिप्रदीको मुख्य लगानीकर्ता सिद्धार्थ राणा हुन् भने कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठ हुन् । सीईओ श्रेष्ठले सिप्रदीलाई ५० अर्बको कम्पनी बनाउने लक्ष्य रहेको बताएका थिए ।















