नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय बैठक आजदेखि

काठमाडौं । नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय बैठक आजदेखि सुरु हुँदैछ । ऊर्जा मन्त्रालयका सचिव चिरञ्जीवी चटौत नेतृत्वको टोली बैठकका लागि बंगलादेश पुगेको छ। आज सहसचिवस्तरीय बैठक बस्ने र त्यसपछि छलफलका निष्कर्षलाई भोलिको सचिवस्तरीय बैठकले अनुमोदन गर्नेछ । बैठकमा मुख्यतः ६८३ मेगावाट क्षमताको सुनकोसी तेस्रो जलविद्युत आयोजना संयुक्त रुपमा निर्माण गर्ने विषयमा छलफल अगाडि बढ्नेछ। संयुक्त कम्पनी गठनबारे प्राविधिक तथा संरचनागत छलफल हुने बताइएको छ। आयोजनाको अध्ययन सकिएको छ र यसको जेनेरेसन लाइसेन्स नेपाल विद्युत प्राधिकरणसँग छ। करिब १ खर्ब ६० अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजना प्राधिकरण र बंगलादेशको सरकारी कम्पनीले मिलेर बनाउने तयारी छ।

बंगलादेश चरम ऊर्जा संकटबाट गुज्रिरहेकोले आयोजना निर्माणमा लगानी गर्दै उत्पन्न विद्युत आयात गर्न इच्छुक छ । हालै ४० मेगावाट बिजुली खरिद गर्दै दुवै देशबीच विद्युत व्यापारमा ‘ब्रेकथ्रु’ भएको छ । तर भारत–बंगलादेश प्रसारण लाइनमा ओभरलोडका कारण थप ऊर्जा निर्यातमा अवरोध रहेको छ । नेपालले वर्षायाममा हुने १००० मेगावाटभन्दा बढी अतिरिक्त उत्पादन भारत र बंगलादेशलाई निर्यात गर्न चाहेकाले प्रसारण लाइन विस्तार, नयाँ पोइन्ट पहिचान तथा भारतलाई सहमति गराउने विषय बैठकको प्रमुख एजेण्डामा रहेको छ। दुवै देशले ऊर्जा क्षेत्रमा हासिल गरेका अनुभव साटासाट गर्ने विषय पनि बैठकमा समावेश छ। सचिव चटौत, सहसचिव सन्दीप देव र प्राधिकरणका कार्यकारी निर्देशकसहितको नेपाली टोली बंगलादेश पुगेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *