नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीको वार्षिक पुरस्कार वितरण तथा कृति लोकार्पण समारोह सम्पन्न

काठमाडौं । नेपाली भाषा, साहित्य, कला, संस्कृति, शिक्षा तथा सिर्जनशीलताको क्षेत्रमा योगदान पुर्‍याउँदै आएका स्रष्टा तथा प्रतिभाहरूलाई सम्मान र प्रोत्साहन गर्दै आएको नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीको वार्षिक पुरस्कार वितरण तथा कृति लोकार्पण समारोह आज काठमाडौंमा सम्पन्न भएको छ। समारोहका प्रमुख अतिथि सम्माननीय प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले भाषा, साहित्य, कला र संस्कृति राष्ट्रको पहिचान तथा सामूहिक स्मृतिका आधार भएको बताउँदै यसको संरक्षण र प्रवर्द्धन राज्य, समाज र प्रत्येक पुस्ताको साझा दायित्व भएको उल्लेख गर्नुभयो।

सभामुख अर्यालले नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीले वि.सं. २०४९ सालदेखि नेपाली भाषा, साहित्य, लोकसाहित्य, लोकगायन, कला, संस्कृति, शिक्षा तथा अनुसन्धानका क्षेत्रमा योगदान पुर्‍याउने स्रष्टा तथा प्रतिभाहरूलाई सम्मान र प्रोत्साहन गर्दै आएकोमा प्रशंसा गर्नुभयो। “राष्ट्र केवल भूगोलले बन्दैनः राष्ट्र आफ्नो भाषा, संस्कृति, इतिहास, साहित्य र सामूहिक स्मृतिले बन्छ।” सभामुख अर्यालले भन्नुभयो। उहाँले विकास, प्रविधि र आर्थिक समृद्धिसँगै आफ्नो मौलिक भाषा, साहित्य, कला र संस्कृतिप्रतिको गौरव र संरक्षणलाई पनि समान प्राथमिकता दिनुपर्ने बताउनुभयो।

उहाँले पुरस्कारलाई केवल सम्मानको प्रतीकका रूपमा मात्र नहेरी स्रष्टाले समाज र राष्ट्रमा पुर्‍याएको योगदानको सार्वजनिक स्वीकारोक्ति तथा नयाँ पुस्ताका लागि प्रेरणाको स्रोतका रूपमा लिनुपर्ने धारणा व्यक्त गर्नुभयो। नवप्रतिभाको पहिचान र प्रोत्साहनले सिर्जनशील पुस्ताको निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने उहाँको भनाइ थियो। सभामुख अर्यालले प्रविधि, सामाजिक सञ्जाल, कृत्रिम बुद्धिमत्ता र विश्वव्यापी सञ्चारको तीव्र विस्तारका बीच आफ्नो मौलिकता र सांस्कृतिक पहिचान जोगाउनु आजको प्रमुख चुनौती भएको उल्लेख गर्नुभयो। विश्वका भाषा र साहित्यसँग परिचित हुँदै गर्दा आफ्नै मातृभाषा, लोककला, परम्परा र साहित्यप्रतिको सम्बन्ध अझ बलियो बनाउनुपर्ने उहाँले बताउनुभयो। नेपालको बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक र बहुधार्मिक स्वरूपलाई नेपालको शक्ति भएको उल्लेख गर्दै सभामुख अर्यालले देशका प्रत्येक भाषा, लोकपरम्परा, कला र सांस्कृतिक अभ्यासलाई साझा राष्ट्रिय सम्पत्तिका रूपमा संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा गुठीका संरक्षक अमिरप्रताप जङ्गबहादुर राणाले नूर–गङ्गा प्रतिभा पुरस्कार गुठी केवल पुरस्कार वितरण गर्ने संस्था नभई संस्कार, सिर्जना र सामाजिक उत्तरदायित्वलाई पुस्तान्तरण गर्ने अभियान भएको बताउनुभयो। उहाँले स्वर्गीय बुवा नूर र आमा गङ्गाको स्मरण गर्दै अभिभावकबाट प्राप्त शिक्षा, संस्कार, मार्गदर्शन र समाजप्रतिको दायित्वबोधलाई संस्थागत रूप दिँदै वि.सं. २०४९ सालमा गुठीको स्थापना गरिएको उल्लेख गर्नुभयो। गुठीका अध्यक्ष प्रा. डा. गोविन्द नेपालले नूर–गङ्गा प्रतिभा पुरस्कारले नेपाली भाषा, साहित्य, कला, संस्कृति, शिक्षा र सिर्जनशीलताको क्षेत्रमा योगदान पुर्‍याउने प्रतिभाहरूलाई निरन्तर सम्मान गर्दै आएको उल्लेख गर्दै यस अभियानलाई अझ व्यवस्थित र व्यापक बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा माननीय विदुषी राणाले स्वर्गीय सासू–ससुरा नूर र गङ्गाको स्मरण गर्दै उहाँहरूबाट प्राप्त संस्कार, मानवीय मूल्य र समाजप्रतिको उत्तरदायित्व नै नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीको मूल प्रेरणास्रोत रहेको बताउनुभयो। उहाँले व्यक्तिगत उपलब्धिभन्दा समाजका लागि केही योगदान गरेर जान सक्नु जीवनको वास्तविक सार्थकता भएको उल्लेख गर्दै गुठीले सम्मानको माध्यमबाट नेपाली प्रतिभाको साधना र सिर्जनालाई पुस्तान्तरण गर्ने कार्य गर्दै आएको बताउनुभयो। “आफ्नो लागि बाँच्नु जीवन हो, तर अरूका लागि केही गरेर जान सक्नु जीवनको सार्थकता हो।” उहाँले आफ्ना सासू–ससुराले जीवनभर आर्जन गर्नुभएको संस्कार, शिक्षा र समाजप्रतिको सेवाभावलाई निरन्तरता दिनु आफ्नो परिवारका लागि सम्मान मात्र नभई जिम्मेवारीसमेत भएको बताउनुभयो। उहाँले तीन दशकभन्दा लामो यात्रामा गुठीले पुरस्कार र सम्मानमार्फत स्रष्टाको योगदानको कदर गर्नुका साथै नवप्रतिभालाई प्रोत्साहन, छात्रवृत्ति तथा सिर्जनात्मक अवसर उपलब्ध गराउँदै आएको उल्लेख गर्नुभयो। बदलिँदो समय, प्रविधिको तीव्र विकास र विश्वव्यापीकरणका बीच नेपाली भाषा, साहित्य, कला, संस्कृति र मौलिक पहिचानको संरक्षण झन् आवश्यक बन्दै गएको उहाँको भनाइ थियो। “सम्मान एउटा व्यक्तिको मात्र होइन, उसले प्रतिनिधित्व गर्ने साधना, संस्कार र सिर्जनाको सम्मान हो। प्रतिभालाई सम्मान गर्नु भनेको भविष्यको सिर्जनशील समाजमा लगानी गर्नु हो, उहाँले भन्नुभयो। समारोहमा विभिन्न विधाका स्रष्टा तथा प्रतिभाहरूलाई नूर–गङ्गा प्रतिभा पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो। साथै, विभिन्न कृतिहरूको लोकार्पणसमेत गरिएको थियो। कार्यक्रममा साहित्यकार, कलाकार, शिक्षाविद्, स्रष्टा, विद्वत् वर्ग तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीले तीन दशकभन्दा लामो यात्राबाट स्थापित आफ्नो मूल उद्देश्य—प्रतिभाको खोजी, स्रष्टाको सम्मान, सिर्जनाको प्रोत्साहन र मौलिक संस्कृतिको संरक्षण—लाई आगामी दिनमा अझ व्यापक, संस्थागत र प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ। “स्रष्टाको सम्मान गरौँ, प्रतिभाको प्रोत्साहन गरौँ र हाम्रो मौलिक पहिचानलाई पुस्तौँपुस्ता हस्तान्तरण गरौँ।”

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *