महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला निर्वाचित
काठमाण्डौं । नेपाली कांग्रेसको महामन्त्री खुलातर्फ प्रदीप पौडेल सानदार मतका साथ विजयी भएका छन् । आइतबार अबेर सम्पन्न महामन्त्री पदको मतगणनामा उनी ४ हजार १९४ मत प्राप्त गर्दै पहिलो स्थानमा विजयी भएका हुन् । खुलातर्फकै अर्का उम्मेदवार उदयशमशेर राणा पनि २ हजार ३३० मत प्राप्त गर्दै महामन्त्री पदमा विजयी भए । महामन्त्री पदका अन्य उम्मेदवारहरु डा. सुनिलकुमार शर्मा २ हजार २५७, गुरुराज घिमिरे १ हजार ५१३, नैनसिंह महर १ हजार १३४, अमरसिंह पुन मगर १ हजार १२५, शंकर तिवारी १२३ र डा. सन्तोष उपाध्याय ९७ मत प्राप्त गरेर पराजित भए । यसैगरी महिला महामन्त्रीतर्फको एक पदमा डा. डिला संग्रौला (पन्त) ३ हजार ११८ मत प्राप्त गर्दै निर्वाचित भएकी छन्। उनकी प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना) ले २ हजार ८६४ मत प्राप्त गरेकी छन्। त्यस्तै, रीता खनालले ८०४ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

















