छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु  

काठमाडौं । चितवन, कपिलवस्तु, सर्लाही र नवलपरासी (पश्चिम)मा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिका–३ पुल्चोकस्थित सडकमा आरजे २५ जिए २९३१ नम्बरको ग्याँस बुलेटको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा हाल पहिचान नखुलेकी करिब ४० वर्षीया महिला रहेकी छन् । उनको सोमबार मृत्यु भएको हो ।  ठक्करबाट गम्भीर घाइते भएकी उनको भरतपुर अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार बुलेट चालकको प्रहरीले खोजी गरिरहेको छ ।  कपिलवस्तुको वाणगंगा नगरपालिका–३ सिउटीस्थित सडकमा लु.४२ प ७१३७ नम्बरको मोटरसाइकल सोमबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार सोही नगरपालिका–३ गंगोलिया बस्ने २२ वर्षीय विष्णु परियार रहका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी एडभान्स सिटि जितगढीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलका चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । सर्लाहीको बलरा नगरपालिका–७ डुमरियास्थित सडकमा बीआर ३० डी ९५४१ नम्बरको मोटरसाइकल र बीआर ३० भी ८४९२ नम्बरको मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

नवलपरासी (पश्चिम)को सुस्ता गाउँपालिका–२ सतपत्तीस्थित सडकमा लु.२२ प ३६७५ नम्बरको मोटरसाइकल मंगलबार बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सरावल गाउँपालिका–१ सालबास बस्ने ५३ वर्षीय ओमनाथ फौहदार रहेका छन् ।  दुर्घटनामा गम्भीर घाइते भएका उनको शहिद स्मृती सामुदायिक अस्पताल चौपत्तामा उपचारको क्रममा मृत्यु भएको हो । 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *