महाकालीमा पक्की पुलले विकास र पर्यटक बढ्ने आशा
खलङ्गा । दार्चुलामा नेपाल–भारत जोड्ने पक्की पुल निर्माण कार्य अघि बढेको छ । हालै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू र भारतको उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामीले एकसाथ उक्त पुलको शिलान्यास गरेका छन् । दार्चुलाको महाकाली नगरपालिका–८ असिगडा र भारततर्फ पिथौरागढ जिल्लाको धार्चुला बलुवाकोट नजिकको मल्ला छारछुम जोड्ने गरी महाकालीमा मोटरेबल पुल बन्न लागेको हो ।
सुदूर पहाडमा पहिलोपटक नेपाल–भारत जोड्ने मोटरेवल पुल बन्न लागेको हो । यसअघि सुदूरपश्चिमको तराई क्षेत्रमा कैलाली र कञ्चनपुरमा मात्र मोटरेवल पुल रहेका छन् । दार्चुला त्रिदेशीय सीमा जोडिएको जिल्ला हो । त्यसैले त्रिदेशीय (नेपाल–भारत–चीन) व्यापारको समेत ढोका खुल्ने स्थानीयको भनाइ छ ।
महाकाली नदीमा पक्की पुल निर्माण दुई देशको सम्बन्ध झन मजबुत हुनुका साथै दार्चुलाको स्थानीय कृषि उत्पादन, जडीबुटी, धातु र कच्चा पदार्थको अन्तर्राष्ट्रिय व्यापारमा वृद्धि हुने जिल्ला समन्वय समितिका प्रमुख महादेव बडूले बताए ।
दार्चुलामा नेपाल–भारत जोड्ने मोटरबेल पुल निर्माणको पहल २०४८ सालदेखि नै गरिएको मन्त्री बडूले बताए । “यो पुलले नेपालको सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबीचको सीमापार सम्बन्ध बलियो बनाउने विश्वास छ”, उनले भने । भारतीय पक्षले निर्माण गर्ने मोटरबेल पुलको कुल लम्बाइ एक सय १० मिटर रहेको छ ।
पुल निर्माणपछि दार्चुला, बैतडी, डडेल्धुरा, बझाङलगायत सुदूरपश्चिमका पहाडी जिल्लाका साथै भारत र चीनसम्मको व्यापार दार्चुलाको नाकाबाट हुने महाकाली नगरपालिकाका प्रमुख नरसिंह चैसिर बताए । “सीमा नाकामा बन्ने पक्की पुल दुवै देशको आर्थिक, सामाजिक, धार्मिक सम्बन्ध मजबुत बनाउनसमेत महत्वपूर्ण हुनेछ । उक्त पुलले सुदूरपश्चिमका पहाडी जिल्लामा रहेका प्रमुख धार्मिकस्थलमा पर्यटकको आगमन बढ्ने देखिन्छ”, उनले भने ।
सुदूरपश्चिमका पहाडी जिल्लामा रहेका प्रमुख धार्मिकस्थल दार्चुलाको मालिकार्जुन, तपोवन तीर्थस्थल, ब्यास गुफा, बैतडीको त्रिपुरासुन्दरी र निङ्गलासैनी, बझाङको सुर्मासरोवर, बाजुराको बडिमालिका, डडेलधुराको उग्रतारा मन्दिर, अमरगढी किल्लालगायतमा भारतीय पर्यटकको आगमन बढ्ने उनले बताए ।
त्यस्तै अछाममा रामारोसन, वैजनाथ र विनायकपञ्च प्रमुख धार्मिक पर्यटकीयस्थलका रूपमा चिनिन्छन् । त्यस्तै डोटीको शैलेश्वरी मन्दिर प्रमुख धार्मिकस्थल हुन् । नेपाल–भारत जोड्ने पक्की पुलले दार्चुलामा रहेको अपी हिमाल र बझाङमा रहेको साइपाल हिमाल अवलोकन गर्न पर्यटकको आगमन हुने सम्भावना छ । प्रमुख पर्यटकीय धार्मिकस्थल कैलाश मानसरोवरसम्म पर्यटकलाई आवतजावत गर्न सहज हुने छ । भारत सरकारको लगानीमा बन्ने पुल र महाकाली करिडोरले पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने विश्वास गरिएको छ ।
नेपाल–भारत–चीनसँगको त्रिदेशीय नाका तिङ्करसम्म व्यापार विस्तारका लागि महाकाली करिडोर निर्माण गरिँदै छ । वि.सं २०६६ देखि उक्त करिडोर निर्माण थालिएको हो । कञ्चनपुरको ब्रह्मदेवबाट डडेल्धुरा, बैतडी र दार्चुलाको तिङ्करसम्म सडक खुलाउने उक्त योजनाअन्तर्गत चार सय १३ किलोमिटर सडक निर्माण हुँदैछ । कञ्चनपुरको ब्रह्मदेवबाट डडेल्लधुरा, बैतडी हुँदै दार्चुलाको तिङ्करसम्मको करिडोरको लम्बाइ चार सय २५ किलोमिटर छ । महाकाली करिडोरअन्तर्गत व्यास गाउँपालिका–२ कोठेधारबाट तिङ्करसम्मको ८७ किलोमिटर सडक खण्ड निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको छ ।