चिसोले कठ्यांग्रिएर सप्तरीमा एकजनाको मृत्यु
काठमाडौं । सप्तरीमा चिसोले कठ्यांग्रिएर एकजनाको मृत्यु भएको छ। तिलाठी कोइलाडी गाउँपालिका– ४ मुसहरी टोलका ४५ वर्षीय राजु भनिने देवु सदाको चिसोका कारण मृत्यु भएको हो।
राति खाना खाएर सुतेका उनको चिसोले कठ्यांग्रिएर मृत्यु भएको तिलाठी कोइलाडी गाउँपालिका– ४ का वडाध्यक्ष मुनिलाल मुखियाले बताए। खुला ठाउँमा रहेको फुसको घरमा सुतेका उनी बिहान मृत भेटिएका हुन्। मृतक सदाका तीन छोरा र तीन छोरी छन् भने श्रीमतीको दुई वर्षअघि नै मृत्यु भइसकेको छ।
तराईका जिल्लामा एक साताअघिदेखि अध्यधिक चिसो बढेको छ। चिसोले जनजीवन प्रभावित भएको छ। तर, चिसोबाट विपन्नलाई जोगाउन स्थानीय सरकार र अन्य सरोकारवाला निकायले कुनै वास्ता नगरेको स्थानीयको गुनासो छ।