पशुपति मन्दिरमा राखिएको सुनको जलहरी जाँच्न अख्तियार आयोग टोली आज पशुपतिनाथ

काठमाडौं । पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा राखिएको सुनको जलहरी जाँच्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली आज अपरान्ह तीन बजे पशुपतिनाथ मन्दिरमा जाने भएको छ ।

जलहरी राख्दा अनियमिमता भएको सूचना बाहिर आएपछि त्यसबारे अख्तियारले छानबिन गरिरहेको छ । संसदमा समेत यसबारे प्रश्न उठेको थियो । आयोगका एक उच्च अधिकृतका अनुसार उजुरीबारे थप अनुसन्धान गर्न टोली पशुपतिनाथ मन्दिरमा जान लागेको हो । आयोगको टोलीले जलहरी नापजाँच गर्ने छ ।

आयोगको टोलीमा खानी तथा भू–गर्भ विभाग, गुणस्तर तथा नापतौल विभाग र नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिहरू संलग्न हुनेछन् । उनीहरूले जलहरी बनाइएको सुनको गुणस्तर, तौललगायत विषयमा परीक्षण गर्ने जानकारी अधिकृतले दिए ।

जलहरीमा ११ केजी सुन घोटाला भएको र त्यसमा कोषकै पदाधिकारी संलग्न रहेको आशंका छ । २०७७ माघ १२ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पत्नी राधिका शाक्य र सहयोगीका साथ पशुपतिनाथ मन्दिरमा पुगेर ‘संकल्प पूजा’ गरेर करिब १ अर्ब रुपैयाँ लागतमा जलहरी राख्ने घोषणा गरेका थिए । घोषणा अनुरुप सरकारले ३० करोड रुपैयाँ दिने बताएका थिए । लगत्तै पशुपति क्षेत्र विकास कोषले सरकारले दिने रकममा ५० करोड आफैं थपेर १ सय ८ केजी परिमाणको सुनको जलहरी राख्ने निर्णय थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *