एक मत जुटाउन मुख्यमन्त्री कार्की सक्रिय , विपक्षी गठबन्धनका दलहरु कार्कीको विश्वासको मतको प्रस्ताव फेल गराउने
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने तयारी गरेका छन् । माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका कार्कीले आज दिउँसो बस्ने प्रदेशसभाको तेस्रो अधिवेशनको पहिलो बैठकमा विश्वासको मत माग्ने तयारी गरेका हुन् । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । नेकपा एमालेका ४० र राप्रपाका ६ गरी ४६ जना सांसद कार्कीको पक्षमा छन् ।
बहुमतका लागि उनलाई एक मत पुग्दैन । त्यो एक मत जुटाउन मुख्यमन्त्री कार्की सक्रिय छन् । तर विपक्षी गठबन्धनका दलहरु पनि कार्कीको विश्वासको मतको प्रस्ताव फेल गराउन प्रयासरत छन् । कार्कीको विपक्षमा नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १२(सभामुख बाहेक), एकीकृत समाजवादीका ४ र जसपाको एक जना सांसद छन् । सभामुख बाहेक दुवै पक्षसँग समान ४६–४६ सांसद छन् । बराबरी भएको अवस्थामा सभामुखले निर्णायक मत दिन पाउँछन् । सभामुख बाबुराम गौतम प्रतिपक्षी गठबन्धनमा रहेको माओवादी केन्द्रबाट निर्वाचित सांसद हुन् ।
मुख्यमन्त्री कार्कीले विश्वासको मतका लागि अन्य दलका सांसदलाई फकाइरहेका छन् । सत्ता पक्षले सांसदलाई फकाउन थालेपछि प्रतिपक्षी गठबन्धन पनि चनाखो बनेको छ । ‘डे वानदेखि नै उहाँहरुको गतिविधि हामीलाई जानकारी छ, गठबन्धनका एक नेताले भने, ‘तर सफल हुनुहुन्न, कोही टंक आङ्बुहाङ निस्कदैनन् । तत्कालीन नेकपा विभाजन हुँदा माओवादी केन्द्रका सांसद टंक आङ्बुहाङ एमाले प्रवेश गरेर मन्त्री बनेका थिए । प्रतिपक्षी गठबन्धन दलका नेताहरुले भने मुख्यमन्त्रीको प्रस्तावलाई फेल गराउने दाबी गरेका छन् । माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्रीको विश्वासको मत सम्बन्धी प्रस्ताव फेल गराउने बताए । विश्वासको मत सम्बन्धी प्रस्ताव फेल गराउने निर्णय गरिसकेको प्रतिपक्षी गठबन्धनको बैठक आज बिहान ११ बजे बस्दैछ