आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह धेरैचोटि दिल्ली पुगेको भनेर प्रचण्डले के भन्न खोजेका हुन् ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कहाँ कुन विषय उठान गर्नुपर्छ भन्ने हेक्का राख्ने नेता होइनन् । त्यही भएर उनी पटकपटक विवादमा आइरहन्छन् । पछिल्लोपटक उनले दिएको अभिव्यक्तिले नेपालको सार्वभौमसत्तामाथि नै प्रश्नचिन्ह खडा भएको छ ।

प्रचण्डलाई प्रधानमन्त्री बनाएको नेपालको प्रतिनिधिसभाले हो । उनले दुई दुईपटक यही संसदबाट विश्वासको मत प्राप्त गरे । प्रतिनिधिसभामै बहुमत जुटाउन सकेकाले उनको पद जोगिएको हो । तर उनले भारतीय राजदूतकै अगाडि आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह नाम गरेका भारतीय नागरिक धेरैचोटि नयाँदिल्ली पुगेको भनेर उनको गुनगान गाएका छन् ।

किरणदीप सन्धुद्वारा लिखित पुस्तक ‘रोड्स टु द भ्याली’ (द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल) को विमोचन समारोहमा जहाँ भारतीय राजदूत नवीन श्रीवास्तव पनि सहभागी थिए । सोही कार्यक्रममा प्रचण्डले प्रितम सिंहको प्रशंसा गरेर आफूलाई भारतले प्रधानमन्त्री बनाएको रहस्य खोलेका छन् । उनको यो अभिव्यक्तिले नेपालका सांसदको मर्यादामाथि प्रहार गरेको छ भने सार्वभौम संसदको अपमान गरेको छ ।

‘यातायात, सामाजिक सेवा, शिक्षाको क्षेत्रमा मात्रै होइन उहाँ राजनीतिमा पनि रुचि राख्नुहुन्छ। उहाँले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो। धेरैचोटि दिल्ली जानु पनि भयो’, उनले अगाडि भने, ‘काठमाडौँका पार्टीहरुलाई, नेताहरुलाई पार्टीहरुसँग पनि उहाँ लगातार छलफल गर्नुभयो। उहाँ राजनीति सफा भयो भने मात्रै देश विकास राम्रो हुन्छ भन्ने विश्वास पनि गर्नुहुन्छ। म शान्ति प्रक्रियामा आएदेखि नै निरन्तर अन्तरक्रिया, सहकार्य हुने गर्‍यो।’

प्रचण्डको यो अभिव्यक्तिलाई लिएर अहिले विभिन्न किसिमको अड्कलबाजी गरिएको छ । हालै भारतको भ्रमण गरेर फर्केका प्रचण्डलाई त्यहाँको संस्थापन पक्षले धेरै मान खातिर गर्नुको कारण उनी दक्षिणकै योजनामा प्रधानमन्त्री बनेको हो कि भन्ने किसिमको संशय पैदा भएको छ ।

सोही कारण पछिल्लो समय नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच औपचारिक अनौपचारिक फोन संवाद हुन थालेको छ । देउवा र ओली प्रचण्डको भारतको महिमागानसँग सन्तुष्ट छैनन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *