वैचारिक रूपमा भुत्ते बन्दै विप्लव, माओवादी प्रवेश गर्न सरकारको प्रशंसा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी .नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लव वैचारिक रूपम भुत्ते सावित हुँदै गएका छन् । विभिन्न घटनाक्रमले अब विप्लवको नेपालको राजनीतिमा उपादेयता र औचित्य सकिँदै गएको देखाएको छ ।

सोमबार आयोजित एक कार्यक्रममा विप्लवले आफ्नो क्षमता देखाएका छन् । त्यो पनि माओवादी नेतृत्वको सरकार र गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रशंसा गरेर । हिजोसम्म विप्लवले के बोल्छन् ? अब के गर्लान् ? भन्ने चासो देशभर हुन्थ्यो । पहिले पहिले माओवादीमै हुँदा पनि विप्लवको असन्तुष्टिले ठूलो अर्थ राख्थ्यो । माओवादी छाडेर अर्कै पार्टी गठन गरेर राजनीति गर्दै आएका विप्लव फेरि माओवादी प्रवेश गर्दैछन् भन्ने हल्लालाई सोमबार उनले पुष्टि गरेका छन् ।

विप्लव माओवादीमा आउन लागेको र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनलाई महासचिव बनाउन लागेको हल्ला चलेपछि वर्षमान पुन र जनार्दन शर्मा एक ठाउँमा आएका छन् । जबकि यी दुई नेता विगतमा विपरीत धारका थिए । विप्लवले माओवादी प्रवेश गर्ने वातावरण बनाउनकै लागि सरकार र गृहमन्त्री श्रेष्ठको भरपूर प्रशंसा गरिदिए । यसले माओवादीमा झन् ठूलो ज्वारभाटा उत्पन्न गराएको छ ।

काठमाडौंमा आयोजित ‘समाजवादी यात्राको चुनौतीः भ्रष्टाचार र दण्डहीनता’ विषयक प्रवचन गोष्ठीमा उनले माओवादी नेतृत्वको सरकार भएकोमा खुसी लागेको बताए । अहिलेको भ्रष्टाचार विरोधी अभियानमा माओवादी नेतृत्वको सरकारमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ हुनु, त्यसमा उपेन्द्र यादवसहितका दलहरू सहभागी हुनु खुसीको कुरा भएको उनको भनाइ थियो ।

‘अहिले गृहमन्त्री, उपप्रधानमन्त्रीजी जो हुनुहुन्छ। खुसी पनि लागेको छ। माअ‍ोवादीको नेतृत्वमा सरकार छ। र, हाम्रो उपेन्द्र यादव कमरेड पनि हुन्छ,’ उनले भने, ‘अरु समाजवादी पार्टीहरू पनि सबै हुनुहुन्छ। र, एउटा लडाईं जस्तो पनि देखिएको छ। यो राम्रो कुरा हो। हामीले भनेका छौं–सरकारले त्यो लडाईं लड्नुपर्छ।’

विप्लवले भ्रष्टाचार नियन्त्रणका लागि सरकारलाई आफ्नो पार्टीले सडकबाट जनतालाई एकीकृत गरेर साथ दिइरहेको दाबी गरे। कतिसम्म भने श्रेष्ठ गृहमन्त्री भएको भए तत्कालीन समयमा आफ्नो पार्टीमाथि प्रतिबन्ध लाग्दैन थियो कि भन्ने अहिले आफूलाई लागि रहेको समेत उनले बताए।

‘सडकबाट हाम्रो पार्टीले जनतालाई एकीकृत गरेर त्यसमा साथ दिन्छ। र, हामीले दिएका पनि छौं। यो सही कुरा हो। र, यो स्मरणीय कुरा के भएको छ भने हाम्रो पार्टीलाई प्रतिबन्ध लाग्नुभन्दा पहिला नारायणकाजी श्रेष्ठ गृहमन्त्री भएको भए सायद लाग्दैन थियो होला भन्ने पनि मलाई अहिले सम्झना भइरहेको छ,’ उनले भने।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *