राप्रपाको केन्द्रीय कार्यालय भवन खाली गर्न महानगरको आदेश
काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीको धुम्बाराहीस्थित केन्द्रीय कार्यालय भवन खाली गर्न आदेश दिएको छ । महानगरका कर्मचारीहरुले कार्यालय भवन अगाडि पुगेर आज माइकिङ गरेका थिए । धुम्बाराहीमा करिब १० रोपनी क्षेत्रफलमा रहेको २ तल्ले घर राप्रपाले २०६९ सालदेखि प्रयोग गर्न थालेको हो ।
दाताहरुले राप्रपालाई यो घर जग्गा प्रयोग गर्न दिएका हुन् । यसैबीच काठमाडौं महानगरपालिकाले ४० माइक्रोनभन्दा कम मोटाइको प्लाष्टिक उपयोगमा प्रतिबन्ध लगाएको छ । जसको कार्यान्वयनका लागि महानगरले पोलिथिनको मोटाइ नाप्न टोली परिचालन गरी अनुगमन गर्ने भएको छ ।
मेयर बालेन्द्र शाह बालेनले माइक्रोमिटरबाट पोलिथिनको मोटाइ नापेर प्रयोग गरिने उल्लेख गरेका छन् । महनगरलाई भन्दा पनि महानगरबासी र वातावरणका लागि यसो गरिएको उनको भनाइ छ । महानगरभित्र ४० माइक्रोनभन्दा कम मोटाइको प्लाष्टिक उपयोग गर्न प्रतिबन्ध लगाएको सामाजिक संजालमा उल्लेख गरेका छन् । त्यस्तै, अनुगमनमा आउनु र जफत गर्नु अघि आयात, भण्डारण र बिक्री गर्ने व्यक्ति तथा व्यापारिक संघ संस्थाले निषेधित कार्य नगर्न नगराउन अनुरोध महानगरपालिकाले गरेको छ ।