शैक्षिक प्रमाणपत्र छानबिनको माग उठेपछि सुनिल शर्मा ‘भूमिगत’

काठमाडौं । साउन १० गते बसेको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद सुनिल शर्माले सुनकाण्डमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतले राजीनामा नदिए आफू कफन बाँधेर संसद् छिर्नेदेखि अनसन बस्नेसम्मका धम्की दिएका थिए ।

आफ्नै पार्टीका नेता अर्थमन्त्री रहेको र गृहमन्त्री श्रेष्ठको पनि राजीनामा मागेपछि शर्मा चर्चामा आएका थिए । सत्तारुढ दलकै नेताले मन्त्रीको राजीनामा मागेपछि यसले स्वाभाविक चर्चा पाउने नै भयो । सामाजिक सञ्जाल र मिडियामा सुनिल शर्मा छाउन थाले ।

तर अर्थमन्त्री महतले उनका व्यक्तिगत स्वार्थअनुसार निर्णय नगरिदिएपछि यसरी धम्की दिएको खुल्यो । स्वास्थ्य बिमाको रकम निकासा नगरिदिएकै कारण महतसँग रुष्ट बनेका शर्मा यतिबेला सिनबाट हराएका छन् ।

माओवादी नेता वर्षमान पुनको नाम सुन तस्करीमा जोडिएको र शर्माको शैक्षिक प्रमाणपत्र छानबिनको माग उठेपछि उनी भूमिगत भएको बुझिएको छ ।

उनले एमबिबिएस पढ्न आइएको नक्कली सर्टिफिकेट बनाएको समाचार आउन थालेका छन् । आइएस्सीमा कम नम्बर ल्याएपछि शर्माले नक्कली सर्टिफिकेट बनाएर एमबिबिएस पढेको कांग्रेस नेताहरु बताउँछन् । जुन विषयमा सिआइबीले छानबिन गरे पनि दबाबकै कारण मुद्दा दायर रोकिएको थियो । यो प्रकरणले पनि शर्मा पछिल्लो समय चुपचाप बसेका छन् ।

शनिबार पक्राउ परेका चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङसँग वर्षमानको दोस्ती देखिएको छ । जसकारण सुनिल शर्माको आक्रोश मत्थर बन्दै गएको छ । शर्मा र पुन व्यापारिक साझेदारसमेत हुन् ।

वर्षमानको करोडौं रुपैयाँ शर्माले मेडिकल कलेजमा लगानी गरेको बताइन्छ । फरक पार्टीका भए पनि उनीहरुबीच घनिष्टता रहेको र अहिले उनै पुनमाथि सुन तस्करीमा छानबिनको माग हुन थालेपछि शर्माको मुख बन्द भएको स्रोतले बतायो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *