मकवानपुरगढी र हेटौँडामा पछिल्लो तीन घन्टामा भारी वर्षा
मकवानपुर । मकवानपुरको मकवानपुरगढी र हेटौँडामा पछिल्लो तीन घण्टामा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागले सो क्षेत्रमा भारी वर्षा मापन भएको भन्दै सर्तक रहन आग्रह गरेको छ । विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले एक सूचना जारी गर्दै पछिल्लो तीन घन्टा भारी वर्षा भएको जनाउँदै सो क्षेत्र भएर बहने कर्रा, सामरी खोला र अन्य स–साना खोलामा आकस्मिक बाढी आउन सक्ने जनाएको छ ।
विभागले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागका बासिन्दालाई आइतबार दिउँसोसम्म सतर्कता अपनाउन आग्रह गरेको छ ।
विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘पछिल्लो तीन घण्टामा मकवानपुरको मकवानपुर गढी र हेटौँडा वर्ष मापन केन्द्रमा भारी वर्षा मापन भएकोले सो क्षेत्र भई बहने कर्रा, सामरी खोला र अन्य स–साना खोलामा आकस्मिक बाढी आउन सक्ने भएकोले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनुहुनेले दिउँसोसम्म सतर्कता अपनाऔँ ।’ पछिल्लो तीन घन्टामा मकवानपुर गढीमा ७२।६ मिलिमिटर र हेटौँडामा ८१.६ मिलिमिटर वर्षा मापन भएको विभागले जनाएको छ ।
शनिबार रातिदेखिको अविरल वर्षासँगै आएको पहिरोका कारण कुलेखानी सिस्नेरी सडकखण्ड अवरुद्ध भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, भालुडाँडास्थित कुलेखानी सिस्नेरी काठमाडौँ सडक खण्डमा पहिरो खस्दा बाटो अवरुद्ध भएको हो । लगातार पानी परिरहेकाले अवरोध हटाउन सकिने अवस्था नरहेको भन्दै मकवानपुर ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक वसन्त आचार्यले उक्त सडकखण्ड हुँदै जाने सवारीसाधनहरूलाई वैकल्पिक बाटो बाटो प्रयोग गर्न आग्रह गरेका छन् ।