मन्त्री ज्वाला भन्छन् – कसैले माग्दैमा गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुहुन्न

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले कसैले माग्दैमा गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा नदिने स्पष्ट पारेका छन् ।

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री ज्वालाले कसैले भन्दैमा अहिलेको सरकार नढल्नेसमेत स्पष्ट पारे । उनले वर्तमान सत्ता–गठबन्धन संसद्को पूरा अवधिसम्म कायमै रहने ठोकुवा गरे । उनले भने,‘अहिले राजीनामाको प्रशंग आउने गरिरहेको छ । एउटा कुरा त यो राजनीतिक स्टन्टबाजी पनि हुनसक्छ । अर्को पोलिटिकल कन्जम्पसनपनि हुनसक्छ । गठबन्धन बलियो हुँदासम्म र सरकारले शीर निहुराउने काम नगर्दासम्म कसैको दबाबमा राजीनामा दिनुपर्दैन ।

सरकारले एकातिर राम्रो काम पनि गरिहरेको छ, अनि राजीनामा पनि दिनुपर्ने ? भ्रष्टाचारलीलाई कारबाही गरेको बेलामा अनि राजीनामा गर्ने ? सुशासन कायम गर्नको लागि सरकारले यसरी काम गरिरहने, अनि राजीनामा दिनुपर्ने ? यो कुरा मिलेन ।’

नेकपा (एकीकृत समाजवादी) का उपमहासचिवसमेत रहेका मन्त्री ज्वालाले सरकारले राम्रो गरिरहेको अवस्थामा अर्थमन्त्री र गृहमन्त्रीको राजीनामाको प्रशंग आउनु नै गलत भएको बताए । उनले एक क्विन्टल सुन तस्करीबारे सीआईबीले छानबिन गरिरहेको उल्लेख गर्दै अनुसन्धान जरैसम्म पुग्ने र दोषीहरुमाथि कारबाही हुने विश्वास दिलाए ।

यस्तै उनले निर्माण व्यवसायीहरुको आन्दोलनप्रति सरकारको ध्यानाकर्षण भएको र माग पूरा गर्नतर्फ लागेको स्पष्ट पारे । उनले निर्माण व्यवसायीहरुको भुक्तानीको मागको विषय जायज भएको बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *