काठमाडौंमा भारतीय दूतावासले मनायो ७७ औं स्वतन्त्रता दिवस

काठमाडौं । नेपालस्थित भारतीय दूतावासले आफ्नो ७७ औं स्वतन्त्रता दिवस मनाएको छ । मंगलबार काठमाडौंस्थित भारतीय राजदूतावासमा ७७ औं स्वतन्त्रता दिवस विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको हो ।

स्वतन्त्रता दिवसको अवसरमा भारत सरकारको तर्फबाट दूतावासले भारतीय झण्डा फहराएर कार्यक्रम सुरु गरेको थियो । कार्यक्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रको नाममा दिएको सन्देश भिडियोको माध्यमबाट प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा भारतीय सेनामा कार्यरत रहँदा मृत्यु भएका नेपालीका परिवारलाई सम्मान गरिएको थियो । उनीहरूलाई भारत सरकारको तर्फबाट भारतीय स्वतन्त्रता आन्दोलनमा मृत्यु भएकाहरूको सम्मानमा गीत, संगीत र नाच प्रस्तुत गरिएको हो । स्वतन्त्रता आन्दोलनमा मृत्यु भएका नेपाली परिवारलाई आर्थिक सहयोगसहित खाद्यान्न, कपडाहरू वितरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले २०४७ मा भारत स्वतन्त्र भएको एक सय वर्ष पूरा हुने सो समयसम्म भरत अमृतकालको रुपमा मनाउने र भारतलाई आत्मनिर्भर बनाउनेमा जोड दिने बताए । उनले स्वतन्त्रता दिवसको अवसरमा भारत र नेपालबीचको सम्बन्ध अझै प्रगाढ बनाउँदै जाने संकल्प लिए ।

‘२०४७ मा भारत स्वतन्त्र भएको सय वर्ष पुग्नेछ, सो अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले भारतलाई पूर्णतः विक्षित देश बनाउने लक्ष्य लिनु भएको छ,’ उनले भने, ‘आगामी २५ वर्षमा अमृतकालको समय बनाएर पूर्ण रुपमा आत्मनिर्भर भारत बनाएर जुन संकल्प लिनु भएको छ, त्यसलाई हासिल गर्न आफ्नो तर्फबाट योगदान दिनुपर्छ ।’

उनले भारत सबैभन्दा ठूलो लोकतन्त्र भएको देश बताउँदै एक बहुसांस्कृतिक देश भएको बताए । यस क्रममा उनले भारत र नेपालको बीचमा गहिरो सम्बन्ध रहेको बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *