सन्दीपको मुद्दा न्यायाधीश कार्कीको इजलासमा, आजै फैसला आउने सम्भावना
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्दको मुद्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश शुकन्तला कार्कीको इजलासमा सुनुवाई हुने भएको छ ।
नावालिक बलात्कार मुद्दामा यसअघि पटक पटक पेसी तोकिएपनि सुनुवाई नभई सर्दै आएको थियो । उक्त मुद्दा भदौ १० गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा मुद्दाको पेसी रहेको थियो । तर, मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेपछि अदालतले भदौ २१ गते (आज)का लागि पेसी तोकेको हो ।
सर्वोच्चले संवेदनशील विषयको मुद्दा भएको भन्दै अग्राधिकारसहित चाँडो फैसला गर्न आदेश दिइसकेको छ । तर, जिल्ला अदालतमा सन्दीपविरुद्धको मुद्दा किनारा लाग्न सकेको छैन । यसअघि, निरन्तर सुनुवाइ गरी फैसला दिने भनिए पनि सन्दीपले पेस गरेको पीडितको जन्म दर्तासम्बन्धी कागजातमा विवाद देखिएपछि पुनः सुनुवाइ हुन लागेको हो । अन्तिम बहस सकिएमा आजै आदेश आउने सम्भावना छ।
सन्दीप पक्षले नै पेस गरेको बसाइँसराइसम्बन्धी कागजमा उल्लेखित गौशाला २६ (छ) र उनकी आमाबीचको उमेरको फरक अस्वाभाविक रहेको भन्दै प्रश्न उठाइएको थियो । आमाको उमेर यकिन गर्ने आदेश भएर रोकिएको थियो ।