ललिता निवास प्रकरण : थुनछेक बहस सकियो, आजै थुनछेक आदेश आउने

काठमाडौँ । ललिता निवासको जग्गा हिनामिना प्रकरणको मुद्दामा थुनछेक बहस सकिएको छ । जिल्ला अदालत काठमाडौँमा न्यायाधीश भोलानाथ ढकालको इजलासमा पक्राउ परेका १८ जना प्रतिवादीका तर्फबाट र सरकारी वकिलको तर्फबाट बहस सकिएको हो ।

बहस पछि आजै प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा रिहा गर्ने भन्नेबारे आदेश हुनेछ । यसअघि शुक्रबार नै प्रहरी हिरासतमा रहेका १८ मध्ये १७ प्रतिवादीका तर्फबाट वकिलले बहस सकेका थिए । बाँकी तत्कालीन समरजङ्ग कम्पनीका कार्यालय प्रमुख लोकहरि घिमिरेका तर्फबाट बहस बाँकी थियो । आज घिमिरेका तर्फबाट वकिलले बहस गरिसकेकाले आजै आदेश आउने भएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ६० दिन लगाएर सङ्गठित अपराध कसुरमा घटनाको अनुसन्धान गरे पनि सरकारी वकिलले सङ्गठित अपराध कसुर आकर्षित नहुने भन्दै कीर्तेमा मुद्दा दर्ता गरेको हो । विसं २०४९ देखि २०६९ सम्ममा नक्कली मोही खडा गरेर ललिता निवासको एक सय ४३ रोपनी जग्गा व्यक्तिका नाममा ल्याइएको थियो । उक्त प्रहरणमा पूर्वमन्त्री, पूर्वसचिव बहालवाला सचिव, पूर्वकर्मचारी, नक्कली मोही, व्यवसायीलगायत विरुद्ध मुद्दा दर्ता भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *