पहिराको कारण बैतडीका दुई विद्यालय भवन जोखिममा

बैतडी । पहिराको कारण बैतडीका दुई विद्यालय भवन जोखिममा परेका छन् । दशरथचन्द नगरपालिका–४ शाहीलेकस्थित वीरेन्द्र मावि र पाटन नगरपालिका–४ कल्तडी स्थित नवदुर्गा आधारभूत विद्यालय पहिराको जोखिममा रहेका हुन् ।

विद्यालयको भवन पछाडिबाट पहिरो खसेकाले विद्यालय भवन पहिराको जोखिममा परेको वीरेन्द्र माविका प्रधानाध्यापक कैलाशकुमार कनौजियाले जानकारी दिए । पहिराका कारण छात्र शौचालय, प्रशासनिक भवन र पुस्तकालय बढी जोखिममा परेको हो । उनले भने, ‘पहिराले भवन जोखिमका साथै शौचालय जाने बाटो भत्काएको छ । विद्यार्थीलाई शौचालय प्रयोगमा समेत समस्या भएको छ ।’

विद्यालय भवन तलतिर खसेको पहिरो रोकथामका उपाय अपनाउन नसके थप समस्या निम्तिने अवस्था रहेको बताइएको छ । विद्यालय भवन पहिराको जोखिममा परेको विषयमा प्रहरी मुचुल्कासहित जिल्ला प्रशासन कार्यालय, पूर्वाधार विकास कार्यालय र सामाजिक विकास कार्यालयमा जानकारी गराइसकिएको विद्यालयले जनाएको छ ।

कक्षा १२ सम्मको पढाइ हुने सो विद्यालयमा अहिले साढे पाँच सय विद्यार्थी अध्ययनरत रहेका छन् । यस्तै जिल्लाको पाटन नगरपालिका–४ कुणी कल्तडीमा रहेको नवदुर्गा आधारभूत विद्यालयको दुईकोठे भवन पहिराको जोखिममा परेको छ । उक्त विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष पदमसिहं विष्टका अनुसार अविरल वर्षाका कारण विद्यालयको सुरक्षाका लागि लगाइएको पर्खाल भत्किएकाले जोखिम बढेको हो । कक्षा ८ सम्मको पढाइ हुने नवदुर्गा आधारभूत विद्यालयमा एक सय ५० विद्यार्थी अध्ययनरत छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *