भदौ ६ गतेको सहमतिअनुसार सुन तस्करी जाँचबुझ आयोग गठन गरियोस् : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुन तस्करीको अनुसन्धान गर्नका लागि जाँचबुझ आयोग गठन गर्न सरकार, सत्तारुढ दलहरु र प्रमुख प्रतिपक्षी नेकपा एमालेको ध्यानाकर्षण गरेको छ ।

बुधबार बसेको पार्टीको केन्द्रीय समिति तथा संसदीय दलको संयुक्त बैठकले दलहरुका बीचमा भएको सहमति अनुसार आयोग गठन नभएकोमा असन्तुष्टि जनाएको छ । गत भदौ ६ गते राष्ट्रिय मान्यता प्राप्त ७ दलबीच सुन तस्करी प्रकरणको थप छानबिनका लागि असोज ५ गते उच्चस्तरीय समिति बनाउने सहमति भएको थियो । तर कार्यादेशका सम्बन्धमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी नेकपा एमालेका बीचमा विवाद भएपछि आयोग गठन हुन सकेको छैन । यससम्बन्धमा विज्ञप्तिमार्फत आयोगले भनेको छ, ‘सरकारले निर्धारित मितिमा समिति गठन नगरेर सहमति उल्लंघन गरेको छ ।’

सत्तारुढ दलहरु र प्रमुख प्रतिपक्षी नेकपा एमालेका बीचमा देखा परेको विवादले आयोग नै गठन नहुने आशंका जन्मिएको भन्दै आयोगले सात दलका बीचमा भएको सहमति अनुसार कार्यादेश हुने गरी आयोग गठन गर्न भनेको हो । ‘भदौ ६ गतेको सहमतिअनुसार समिति गठन गरी कार्यादेश तोक्नु पर्नेमा सत्ता र प्रमुख प्रतिपक्ष नै आरोप(प्रत्यारोपमा उत्रिदा सो सहमति कार्यान्वयन नहुने हो कि भन्ने आशंका उब्जिएको छ । तसर्थ, यो बैठक उक्त सहमतिमा हस्ताक्षरकर्ता दलको नाताले भदौ ६ गतेको सहमतिअनुसार अगाडि बढ्न दलहरुलाई आग्रह गर्दै उच्चस्तरीय समिति तत्काल गठन गरी कार्यादेश तोक्न सरकारसँग माग गर्द,छ’ बिहीबार जारी विज्ञप्तिमा भनिएको छ ।

सुन तस्करीको छानबिन गर्न गठन गर्ने आयोगले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले गरेको अनुसन्धानलाई सन्दर्भ सामाग्रीका रुपमा मात्रै लिएर अनुसन्धान गर्ने गरी कार्यादेश तोकिनु पर्ने एमालेको माग छ । तर सत्तारुढ दलहरु एमालेको मागमा सहमति छैनन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *