बूढानीलकण्ठमा ३०८ जनाको उम्मेदवारी
काठमाडौँ । बूढानीलकण्ठ नगरपालिकामा ३०८ जनाको उम्मेदवारी दर्ता भएको छ । काठमाडौँ जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित बूढानीलकण्ठमा यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी परेको हो । बूढानीलकण्ठ नगरपालिकाका निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार नगरप्रमुखमा १५ र उपप्रमुखमा ६ जनाको उम्मेदवारी परेको छ । वडाध्यक्षमा ७१, महिला वडा सदस्यमा ५४, दलित महिला सदस्यमा ४८ र खुला सदस्यमा ११४ जनाको उम्मेदवारी परेको छ ।
जम्मा १३ वडा रहेको बूढानीलकण्ठको वडा नं १ मा १८, वडा नं २ मा २१, वडा नं ३ मा २५, वडा नं ४ मा २२, वडा नं ५ मा १८, वडा नं ६ मा २२, वडा नं ७ मा १६, वडा नं ८ मा २२, वडा नं ९ मा २४, वडा नं १० मा २६, वडा नं ११ मा २६, वडा नं १२ मा २७ र वडा नं १३ मा २० जनाको उम्मेदवारी परेको भट्टराईले बताए ।
बूढानीलकण्ठमा नेपाली कांग्रेसबाट नगरप्रमुखमा विनोद चालिसे र उपप्रमुखमा रमिला वाग्ले, नेकपा (एमाले)बाट नगरप्रमुखमा मीठाराम अधिकारी र उपप्रमुखमा अनिता लामा र नेकपा (माओवादी केन्द्र)बाट नगरप्रमुखमा डम्बरप्रसाद अधिकारी र उपप्रमुखमा कमला गौतमले उम्मेदवारी दिएका छन् । वि.सं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा बूढानीलकण्ठ नगरपालिकाको नगरप्रमुखमा नेकपा (एमाले)का उद्धव खरेल र उपप्रमुखमा एमालेकै रमादेवी राई विजयी भएका थिए ।