हिउँदे अधिवेशनबाट टीआरसी विधेयक पारित गर्ने सहमति
काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्को हिउँदे अधिवेशनबाट पारित गर्नेगरी दलहरूबीच सहमति भएको बताएका छन् ।
बिहीबार नियमित पत्रकार सम्मेलनमा उनले टीआरसी विधेयक संसदीय समितिमा छलफल भइरहेको र हिउँदे अधिवेशनमा संसदबाट पारित हुने बताएका हुन् । नेता सापकोटाले भने, ‘शान्ति प्रक्रिया अहिले महत्त्वपूर्ण विषय हो । यसलाई टुंग्याउन शीर्ष नेताहरूसँग छलफल भइरहेको छ । टीआरसी विधेयक अहिले संसदीय समितिमा छलफल भइरहेको छ । हिउँदे अधिवेशनबाट पारित गर्न दलहरूबीच सहमति भएको छ ।’
हिउँदे अधिवेशन बोलाउनकै लागि सरकारले संसद्को अधिवेशन अन्त्य गर्ने निर्णय गरेको उनको भनाइ छ । संघीय संसदको चालू अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुँदैछ ।