देशभरका कारागारमा योग शिविर चलाउने गृह मन्त्रालयको निर्णय

काठमाडौँ । मन्त्रालय र मातहतका निकायमा स्वजागरणका रूपमा योगाभ्यास संस्कृतिलाई अगाडि बढाउने उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभियान अन्तर्गत देशभरिका कारागारमा योगशिविर सञ्चालन हुने भएको छ।

उपप्रधानमन्त्री श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, कारागार व्यवस्थापन विभागका महानिर्देशक काशीराज दाहाल, नेपाल विपाश्यना केन्द्रका क्षेत्रीय आचार्य रूप ज्योति, सहायक आचार्य पवन मित्तल, पूर्व प्रहरी महानिरीक्षक एवम् विपाश्यना साधक कुबेरसिंह राना सहित सोमबार गृह मन्त्रालयमा बसेको बैठकले नख्खु कारागारबाट शिविर सञ्चालन गर्ने निर्णय गरेको हो ।

एक महिना भित्रै नख्खु कारागारमा हुने दश दिवसीय शिविरपछि अरू कारागारमा पनि त्यही स्वरूपको शिविर आयोजना गरिने छ। केन्द्रीय कारागारसहित देशमा ७४ वटा कारागार छन् । नेपाल विपाश्यना केन्द्रका धर्मसेवक सुशील शाहका अनुसार केन्द्रकै व्यवस्थापनमा शिविर सञ्चालन हुनेछ। र, व्यवस्थापन अवस्थाअनुसार एकपटकमा ६०(७० जनाले योगाभ्यास गर्नेछन् ।

पटक पटक शिविर सञ्चालन गरी सबैलाई योगाभ्यास गराइने छ । यसअघि नख्खु, भिमफेदी, परासी र विराटनगर कारागारमा पहिलो चरणको योग शिविर सम्पन्न भैसकेको छ।

गृह मन्त्रालय र मातहतका निकायमा स्वजागरणका रूपमा योगाभ्यास संस्कृतिलाई अगाडि बढाउने उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठको अभियानअन्तर्गत योग शिविर सञ्चालन हुन लागेको प्रेस नोटमा उल्लेख छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *