माछापुच्छ्रे बैंकले तिर्यो १० करोडभन्दा बढी कर
काठमाडौं । माछापुच्छ्रे बैंकले सर्वोच्च अदालतको आदेशपछि कम्पनीले सरकारको निर्णय बमोजिम १० करोड २७ लाख ६७ हजार ११ रुपैयाँ ठूला करदाता कार्यालयमा आयकरको रुपमा भुक्तानी गरेको हो । सरकारले आर्थिक ऐन, २०५० को दफा २६ मा फर्दर पब्लिक अफरिङबाट प्रिमियम मूल्यमा सेयर जारी गरी प्राप्त भएको रकमबाट हिताधिकारीमा बोनस सेयर वितरण गर्दा आयमा समावेश गरी कर लाग्ने व्यवस्था गरेको छ ।
र, सो कर २०८० मंसिर मसान्तसम्म भुक्तानी गरेमा आयकर ऐन, २०५८ बमोजिम लाग्ने शुल्क तथा ब्याज छुट सुविधा हुने व्यवस्था भएको र सर्वोच्च अदालतको सो सम्बन्धी बैंक तथा बीमा कम्पनीको रिट खारेजीको निर्णयका आधारमा बैंकले दाखिला गरेको हो । विगतमा यस बैंक र स्ट्यान्डर्ड फाइनान्स एक आपासमा गाभिँदा सौदाबाजि गर्दा प्राप्त लाभ (बार्गेन पर्चेज गेन) बापतको ४ करोड ५० लाख र हकप्रद सेयर लिलाम गर्दा प्रिमियमवापतको ५ करोड ७६ लाख ८२ हजार रुपैयाँ कर बैंकले दाखिला गरेको जानकारी गराएको छ ।