मुलुकमा नवप्रवर्तनमुखी कृषि प्रणालीको खाँचो छ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको समृद्धिका लागि नवप्रवर्तनमुखी कृषि प्रणालीको खाँचो रहेको बताएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज भएको ‘दिगो विकासको वर्तमान अवस्था र भविष्य’ विषयक कार्यक्रममा बोल्दै उनले परम्परागत ढङ्गको कृषि प्रणालीबाट मुलुकको समृद्धि सम्भव नभएको बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले आधुनिक कृषि प्रणालीको अवलम्बन गरिनुपर्नेमा जोड दिँदै कृषि क्षेत्रको विकासबाट रोजगारी सिर्जना, उत्पादन वृद्धि तथा आयात प्रतिस्थापन गर्न सकिने बताए । नेपालको दिगो विकासको मूल आधार कृषि नै रहेको उनको भनाइ छ ।

वर्तमान सरकार कृषिलाई मुख्य आधार बनाएर समृद्धिको यात्रामा होमिएको उल्लेख गर्दै उनले सोह्रौँ पञ्चवर्षीय योजनामा कृषिको भूमिकालाई प्रतिविम्बित गर्न खोजिएको बताए । आफू पनि कृषिको विद्यार्थी भएकाले उनले कृषिलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए ।

हरित क्रान्तिका निम्ति भारत सरकारको पहल उदारहणीय रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भारतको उपलब्धि नेपालजस्ता मुलुकले सिक्न लायक रहेको बताए । नेपालको सन्दर्भमा उपयुक्त हुने विषय अनुशरण गर्न तयार रहेको उनको भनाइ थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *