आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग साझेदारी गर्ने
काठमाडौं । आइएमई ग्रुप र इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरा कम्पनीले नेपालमा ऊर्जा परियोजनाहरूको विकासमा साझेदारी गर्ने भएका छन् । आइएमई ग्रुपमा एक विशेष कार्यक्रमबीच आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र पिटी पिएलएन नुसन्तराका निर्देशक मुहम्मद रेजाबीच सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । पिटी पिएलएन नुसन्तरा इन्डोनेसिया सरकारको स्वामित्वमा रहेको ऊर्जा विकास कम्पनी हो ।
यस समझदारीअन्तर्गत पिटी पिएलएनले आफ्नो विशेषज्ञताका आधारमा नेपालमा नवीकरणीय ऊर्जा परियोजनाहरूको विकासका लागि थप अध्ययन तथा विश्लेषण गर्नेछ । पिटी पिएलएनले स्थानीय तथा अन्तर्राष्ट्रिय ऊर्जा बजारमा पावर प्लान्टको सञ्चालन तथा मर्मत सम्भारमा विशेषज्ञता हासिल गरेको छ। यसले सिंगापुर, मलेसिया, कुवेत, चीन र साउदी अरब लगायतका देशहरूमा सेवा विस्तार गरिसकेको छ । आइएमई ग्रुपका अध्यक्ष ढकालले नेपालको ऊर्जा उत्पादनमा थप अवसरहरू खोल्न नयाँ साझेदारीले सहयोग पुग्ने विश्वास व्यक्त गरे । बढ्दो ऊर्जा मागलाई सम्बोधन गर्न तथा यस क्षेत्रको दिगो विकासलाई सघाउन इन्डोनेसियाको विशेषज्ञता तथा अनुभवलाई यो समझदारी मार्फत उपयोग गर्न सकिनेमा विश्वस्त रहेको पनि अध्यक्ष ढकालले उल्लेख गरे । आइएमई ग्रुपले जलविद्युत, बैंकिङ, बीमा, पर्यटन पूर्वाधार र सूचना प्रविधि लगायतका क्षेत्रहरूमा लगानी विस्तार गरिरहेको छ ।