ठूला सडकमा कति बजेट विनियोजन
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले बजेटमा विभिन्न ठूला विकास आयोजनाहरु समेटिएका छन् । बजेट प्रस्तुत गर्दा उनले उनले सडक पूर्वाधारलाई सुरक्षित, गुणस्तरीय, दिगो र भरपर्दो बनाइने दाबी गरे । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट–बुटवल सडक खण्ड र कमला–कञ्चनपुर सडक खण्डलाई चार लेनमा विस्तार गर्ने कार्य आगामी आर्थिक वर्ष सम्पन्न गरिनेछ,” अर्थमन्त्री पुनले भने । काँकड़भिट्टा–लौकही, कमला–ढल्केवर–पथलैया, पथलैया–नारायणघाट, बुटवल–गोरुसिंगे र भालुबाङ्ग–लमही सडक खण्ड स्तरोन्नति कार्य सुरु गरिने पनि उनले जनाए । पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि २९ अर्ब ८८ करोड रुपैयाँ विनियोजन गरेको उनले सुनाए । काठमाडौं–तराई÷मधेश द्रुतमार्ग सडक आयोजना अन्तर्गत निर्माणाधीन महादेवटार, धेद्रे र लेनडाँडा सुरुङ मार्ग निर्माण कार्य आगामी आर्थिक वर्ष सम्पन्न गरिने दाबी उनको थियो । द्रूतमार्गमा पर्ने ५७ पुलको निर्माण कार्यलाई आगामी आर्थिक वर्ष तीव्रता दिइने उनले जनाए । काठमाडौं–तराई,मधेश द्रुतमार्ग आयोजनाका लागि आगामी वर्ष २२ अर्ब ५४ करोड बजेट छुट्टयाइएको छ ।
आगामी आर्थिक वर्ष मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत निर्माणाधीन कटुञ्जे–आरुघाट सडक खण्ड समेत गरी ७५ किलोमिटर कालोपत्रे र १० वटा पुल निर्माण कार्य सम्पन्न गर्ने अर्थमन्त्री पुनले बताए । मध्यपहाडी पुष्पलाल लोकमार्गको लागि ३ अर्ब ६८ करोड रुपैयाँ उनले विनियोजन गरेका छन् । हुलाकी राजमार्ग अन्तर्गत ७५ किलोमिटर कालोपत्रे र १० वटा पुलको निर्माण कार्य सम्पन्न गर्न ३ अर्ब ३० करोड विनियोजन गरेको समेत उनले बताए । कोसी, कालीगण्डकी र कर्णाली कोरिडोरको निर्माण कार्यलाई तीव्रताका साथ अगाडि बढाइनेछ, अर्थमन्त्री पुनले भने, कालीगण्डकी कोरिडोरको गैंडाकोट–राम्दी–मालढुंगा खण्ड र मालढुंगा–बेनी–जोमसोम–कोरोला खण्ड गरी थप ५० किलोमिटर र कोसी कोरिडोरको थप ३० किलोमिटर सडक कालोपत्रे गरिनेछ । कर्णाली कोरिडोरको ५ वटा पुल निर्माण र ५० किलोमिटर सडक स्तरोन्नति गर्ने समेत उनले जनाए । उत्तर दक्षिण कोरिडोरको लागि ४ अर्ब ४३ करोड रुपैयाँ बजेट छुट्टयाइएको छ ।
मदन भण्डारी राजमार्गको बाँकी निर्माण कार्य अगाडि बढाउन सरकारले ३ अर्ब ६० करोड विनियोजन गरेको छ । रत्न राजमार्ग, कर्णाली राजमार्ग, सिद्धार्थ राजमार्ग लगायतका सडक सञ्जालको विस्तार र स्तरोन्नति कार्यलाई तीव्रता दिने उनले बताए । नागढुंगा–नौबिसे–मुग्लिङ्ग खण्डमा थप ४० किलोमिटर स्तरोन्नति र आँबुखैरनी–पोखरा खण्डमा कालोपत्रे सम्पन्न गर्ने भनाई अर्थमन्त्री पुनको थियो । मुग्लिङ्ग–आँबुखैरनी खण्ड विस्तारको निर्माण कार्य शुरू गरिने र यसको लागि ९ अर्ब ५७ करोड रुपैयाँ बजेटमा व्यवस्था गरिएको उनले बताए । सहिद मार्ग अन्तर्गत होलेरी–दारबोट खण्डमा बीस किलोमिटर कालोपत्रे, दारबोट–घर्ती गाउँ–दुईखोली खण्डमा बीस किलोमिटर ग्राभेल र घोराही–होलेरी खण्डमा कालोपत्रे सुरू गर्ने पनि उनले सुनाए । यसको लागि १ अर्ब २५ करोड रकम उनले छ्ट्टयाएका छन् ।
भेरी कोरिडोर, तमोर कोरिडोर, महाकाली कोरिडोर, सेती लोकमार्ग र सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकको स्तरोन्नति गर्न ३ अर्ब ८६ करोड रुपैयाँ बजेट विनियोजन गरेको उनले बताए । अन्तरदेशीय व्यापारिक मार्गको गल्छीदेखि स्याफ्रुबेशीसम्म सडक स्तरोन्नति कार्य सम्पन्न गरिनेछ । स्याफ्रुबेशी–रसुवागढी सडक स्तरोन्नति कार्य शुरू गरिनेछ । यसका लागि १ अर्ब ८० करोड विनियोजन गरेको छु, अर्थमन्त्री पुनले भने । पृथ्वी राजमार्गको विमलनगरदेखि गोर्खाको लिगलिगकोट–भच्चेक–बारपाक–बुङकोट–गोरखाबजार–मनकामना–बेनीघाटसम्म पडवे यातायात प्रणालीको सम्भाव्यता अध्ययन र लगानी ढाँचा तय गरी निर्माण कार्य अगाडि बढाइने पनि उनले बताए । राष्ट्रिय राजमार्ग र रणनीतिक सडक अन्तर्गत १ सय ५० वटा पुल निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ । नारायणी तथा तिनाउ नदीमा सिग्नेचर ब्रिज निर्माण कार्य अगाडि बढाइने र यी कार्यक्रमका लागि आगामी वर्ष २ अर्ब ४६ करोड रुपैयाँ उपलब्ध गराइने छ । सिस्नेखोला–नागढुंगा सुरुङमार्ग निर्माण सम्पन्न गरी यातायात सञ्चालन गरिने अर्थमन्त्री पुनले बताए ।
सिद्धबाबा सुरुङ मार्गको मुख्य सुरुङ खन्ने कार्य पनि आगामी आर्थिक वर्ष सम्पन्न गरिनेछ । ग्वार्को चोकमा फ्लाईओभरको निर्माण कार्य सम्पन्न गरी यातायात सञ्चालन गरिने र कोटेश्वर इन्टरसेक्सन निर्माण कार्य शुरू गरिने उनले जनाए । सुरुङमार्ग, फ्लाईओभर र इन्टरसेक्सन निर्माणका लागि ५ अर्ब ६३ करोड रुपैयाँ विनियोजन गरिएको छ । राष्ट्रिय राजमार्गको २ सय ५० किलोमिटर र अन्य राजमार्गको ७ हजार ८ सय किलोमिटर सडकको मर्मत सम्भार गर्न ६ अर्ब ५४ करोड विनियोजन गरिएको छ । सडक दुर्घटना न्यूनीकरण तथा सुरक्षित राष्ट्रिय सडक सञ्जालको लागि डिजाइन तथा निर्माणको चरणमा सडक सुरक्षा परीक्षणको व्यवस्था गरिने भनाई उनको थियो । सम्भावित दुर्घटनास्थल पहिचान गरी घुम्ती तथा साँघुरो सडकमा क्र्यास व्यारियरको निर्माण गरिने उनले जनाए । आगामी आर्थिक वर्ष काठमाडौं उपत्यका भित्रका व्यस्त ४४ वटा चोकमा स्मार्ट ट्राफिक लाइट जडान गरिने छ । जयनगर–बर्दिवास रेलमार्ग अन्तर्गत विजलपुरा–बर्दिवास खण्ड तथा बथनाहा–विराटनगर खण्डमा जग्गा प्राप्तिको कार्य आगामी वर्ष सम्पन्न गरिनेछ । पूर्व–पश्चिम विद्युतीय रेलमार्गको बर्दिबास–चोचा खण्डको निर्माणाधीन कार्य पनि सम्पन्न गरिनेछ । केरुंग–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन सम्पन्न गरिने र रेलमार्ग विकासका लागि ३ अर्ब ८८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । सुनकोशी र नारायणी नदीमा जलमार्ग निर्माण शुरू गरिनेछ । नारायणी नदीमा सञ्चालित जलयानमा यात्रु चढ्न र ओर्लन सहज र सुरक्षित हुने गरी टर्मिनल निर्माण गरिने अर्थमन्त्री पुनले बताए । यातायात व्यवस्थापनमा डिजिटल प्रणाली लागू गरी सार्वजनिक यातायात सेवालाई सर्वसुलभ, सुरक्षित, भरपर्दो र पहुँचयोग्य बनाइनेछ । दिगो तथा वातावरण मैत्री यातायात प्रणालीको विकास गरिनेछ, अर्थमन्त्री पुनले भने ।