कांग्रेस र एमालेले पाएको यो मौका खेर फाले नयाँ शक्तिको उदय निश्चित
काठमाडौँ । विक्रम सम्वत् २०४६ को आन्दोलनका सहयात्री नेपाली कांग्रेस र बाममोर्चा सम्वद्ध दुई दल फेरि सत्ता साझेदारीमा सहमत भएका छन । पञ्चायत ढाल्न कांग्रेस नेतृत्वमा सात बाम समुह सम्मिलित बाममोर्चा संयुक्त संघर्षका लागि सहमत भएका थिए । बाममोर्चाको नेतृत्व गर्ने दल नेकपा माक्र्सवादी र माले अहिले एमालेमा छन । २०४६ सालको अन्तरिम सरकार गठन यता आजसम्म कुनै न कुनै रुपमा सत्तामा छन । २०४६ सालको कांग्रेस, बाममोर्चाको आन्दोलनसँग असहमति राख्ने नेकपा (मशाल) अहिले माओवादीको रुपमा सत्तामा हरदम राइँदाइँ गरिरहेको छ ।
प्रजातन्त्रको लागि जीवन आहुती दिन तयार नेताहरु प्रजातन्त्र पुनः स्थापनापछि सरकारमा गए तर तिनले आन्दोलनमा झैँ इमानदारी, निष्ठा, प्रतिवद्धता देखाउन सकेनन् । तिनले निहित स्वार्थमा बशिभुत भएर पञ्चायतकै पदचाप पछ्याए । भ्रष्टाचार , साँसद खरिदविक्री, प्राडो पजेरो, कमिशनखोरी, परिवारवाद, गुटस्वार्थ आदिका कारण आन्दोलनका सम्वाहक शक्ति बदनाम भए , नेताहरु जनताको नजरमा नराम्रोसँग गिरे । २०४६ सालको परिवर्तन यता मुलुकले गरेको उन्नति , प्रगति शिक्षा स्वास्थ्य , सञ्चार, यातायातको क्षेत्रको विकासको श्रेय पनि तिनै दललाई जान्छ । जनताको तागतलाई पहिचान दिने काम पनि तिनैले गरेका हुन । तिनले जनता र देशको पक्षमा गर्नुपर्ने काम गरे कि गरेनन् , जनचाहना अनुरुपको काम भयो कि भएन , लोकतन्त्रमा आम मानिसको पहुँज रह्यो कि रहेन जनताले स्वयम महशुस गरेका छन् ।
यो तेत्तिस बर्षको अवधिमा मुलुकमा जे जति राम्रा काम भए त्यसको श्रेय पनि यिनै दलले पाउँछन । र, विकृति, विसंगति , भ्रष्टाचार, बेथिति , अनअसंतोष , आक्रोश, अब नेपालमा बसेर केही हुँदैन भन्ने युवा पुस्तामा सिर्जित मनोविज्ञान सबैको जिम्मेवारी यिनै दलले लिनुपर्छ । यिनले गरेका खराबीका कारण जनतामा उत्पन्न भएका निराशाको स्थितिबाट फाइदा उठाएर राजा ज्ञानेन्द्रले शक्ति आफ्नो हातमा लिंदा निरिह बनेका नेतालाई क्षमा गर्दै सुध्रने शर्तमा जनताले एक अवसर दिए । जनता एक पटक फेरि नेताको तागत बने र आन्दोलन सफल पनि भयो । तर , नेताहरु सुध्रनुको साटो झन भ्रष्ट , झन परिवारवादको चंगुलमा फस्ने र मुलुक र जनताको हितलाई नजरअन्दाज गर्ने बाटोमा लागे । पछिल्लो कालखण्डमा उदाएका बालेन, हर्क र रवि त्यही विकृतिका बाइप्रोडक्ट हुन् ।
यसवीचमा माओवादी नाम गरेको उग्रवादी शक्तिको जन्म भयो । उसले दशबर्षसम्म हत्या, हिसां , अपहरण, लुटपाट , सार्वजनिक सम्पतिक्षय , आगजनि, बलात्कार जस्ता जनतालाई आतंकित तुल्याउने दुष्कर्म पनि गर्यो । त्यसको जवाफदेयीता पनि कांग्रेस एमाले ले नै लिनुपर्छ । यदि तिनले देशलाई सुशासन दिएको भए, आफ्नो स्वार्थको लागि आतंककारीको संरक्षण नगरेको भए माओवादी जन्मने नै थिएन । २०६२, ६३ सालको आन्दोलनपछि मुलधारको राजनितिमा आएको माओवादी ०५१, ०५६ को राप्रपाकै भुमिकामा रह्यो । एद्यपि उसको भुमिका त्यही छ । चरित्रको हिसावले, व्यवहारको हिसावले, काम कारबाहीको हिसावले माओवादी आजपनि त्यहि अवस्थामा छ ।
धम्की दिने, धाक लगाउने र हरदम सत्तामा टाँसिइरहने माओवादी आज पनि आफुलाई कमजोर ठान्दैन । उसले हामी फेरी जंगल जान्छौँ भन्नासाथ सबै तर्सन्छन भन्ने ठान्छ । तर पुनः मुसिको भवः को श्रापको कारण ऊ अब आफ्नो औकातमा आइसकेको छ । उसलाई सत्ताप्राप्तीको लागि कांग्रेस र एमालेका बीचमा खेल्न अब सजिलो छैन । किनकि दुई ठुला दल कांग्रेस र एमाले नै एक आपसमा मिलिसकेका छन । २०५१ देखि दश बर्ष गरेको विनाश र २०६३ देखि आजसम्म सरकारमा रहेर मच्चाएको ब्रम्हलुटको दायित्व चाँहि उसले पनि बोक्र्नै पर्छ । यसरी कांग्रेस, एमाले र माओवादीले आजसम्म गरे भएका राम्रा नराम्रा कामको दायित्व लिनै पर्छ । राम्रा कामको श्रेय लिने र विकृतिको दोष अर्काको थाप्लोमा हाल्ने प्रबृति त्याग्नै पर्छ । त्यागीकन धरै पाउदैनन् । जनताले तिनलाई फेरि पु्र्ववत विश्वास गर्न ठुला भनिने दुई दल र माओवादी पुर्णरुपले सच्चिनु पर्छ । विगतमा के भयो , गलत भयो कि सही भयो त्यसको समीक्षा नगरी , कार्यकर्तामा नेताले प्रायस्श्चित गर्दैछन भन्ने संदेश नपुर्याई , जनतालाई भरोसा नदिलाई यसै चलाउँछु भन्ने हो भने अब यी तीनैवटा दल एउटै खाडलमा जाकिने निश्चित छ ।
जनताले लोकतन्त्रवादी शक्तिको रुपमा नेपाली कांग्रेसलाई र बामपन्थी शक्तिको रुपमा नेकपा (एमाले)लाई पटक पटक अवसर दिए । गल्तीको लागि क्षमा दिए । कांग्रेसमा विभाजन ल्याएर जनताको अधिकार दरवारमा बुझाउने शेरबहादुर देउवालाई पनि क्षमा गरे । आधा प्रतिगमन सच्चियो भनेर राजा ज्ञानेन्द्रको मतियार बन्न गएको एमालेलाई पनि माफ गरिदिए लाखौँ जनतालाई रगतको आशुँ रुवाउने माओवादीलाई समेत जनताले क्षमा दिए । जनताको त्यो क्षमाशील प्रवृतिबाट अनुचित लाभ लिने मनसाय अब यी तीनैवटा दलले राख्नु हुदैन । जनताले बारम्वार क्षमा गरेका छन् , मौका दिएका छन् , अब पनि दिन्छन भन्ने ठान्नु भुल हुन्छ । हामी निर्विकल्प छौँ , हामी बाहेक जनताको जाने अर्काे ठाउँ छैन भन्ने भ्रमबाट मुक्त हुनुपर्छ । र, यो अवसरलाई अन्तिम ठानेर आफु सच्चिने र सही काम गर्ने सदिक्षाबाट प्रेरित भएर काम नगर्ने हो भने यी दलले अब फेरि अर्काे मौका पाउन सम्भव छैन ।
सत्ताको लोभी भएर प्रधानमन्त्री पुष्पकमल दाहालले हठ गर्नु झनै अनुचित छ । उनले कांग्रेस र एमाले मिलिसकेपछि अर्काे कुनै विकल्प बाँकी छैन भन्ने बुझेर प्रधानमन्त्रीबाट त्यागपत्र दिनुपर्छ । नयाँ गठबन्धनका लागि बाटो खुल्ला गरिदिनुपर्छ । त्यही नै एउटा समझदार राजनीतिज्ञको चरित्र हुन्छ । सत्ताको अनुचित खेल, कुर्सीका लागि उचित अनुचित नछुट्याउने चरित्रले नै आजको अवस्था आएको हो । कमसेकम विगतका गल्ती नदोहोर्याउने प्रतिवद्धताको पहिलो पाईलो चाल्ने अवसर प्रम दाहाललाई प्राप्त भएको छ । त्यसबाट लाभ लिएर अब आफु सुध्रिएँ भन्ने संदेश दिन सक्नुपर्छ । र, सत्ताको निकट पुगेका कांग्रेस, एमालेलेपनि विगतका गल्तीलाई बाहिरै राखेर भित्र प्रवेश गर्नुपर्छ । बारम्बार गल्ती दोहोर्याउनु बुद्धिमानी होइन । समझदार र बुझकीले एउटा गल्ती एक पटक गर्छ । त्यही गल्ती बारम्बार दोहोर्याइ रहदैँन ।