सवारी चलाएरै बहिनीलाई डाक्टर बनाउने किशोरीको सपना
छेकी शेर्पा १९ वर्षकी भइन् । उनी इलामको कच्ची सडकमा सवारी चलाउँछिन् । साहस र आँटिलो स्वभावकी छेकीले डेढ वर्षयता निरन्तर बोलेरो जिपमा यात्रु बोक्ने काम गर्दै आएकी छिन् ।
त्यसो त सवारी चलाउने महिला अरू पनि नभएका भने हाेइनन् । तर, पहाडी जिल्लाको कच्ची बाटोमा सार्वजनिक यातायातको साधन चलाउने महिलाको संख्या नगन्य छ । यात्रुसहितको सवारी चलाउने उनी इलाम जिल्लाको मात्र नभई पूर्वी पहाडीकै एक मात्र किशोरी हुन् ।
पहाडको कच्ची सडकमा खोलानाला र भिरालो सडकमा गाडी चलाउन जोकोहीले हिम्मत गर्दैनन् । घरपरिवारले गाडी खरिद गरिदिएपछि उनले गाडी चलाउन थालेकी हुन्। बोलेरो डबल क्यापको जिपमा यात्रु र भारीसहित उनी बिहान इलाम सन्दकपुरको जमुनास्थित सिस्नेबाट इलाम सदरमुकाम जान्छिन्। दिउँसो सदरमुकाम तथा बिब्ल्याँटेबाट जमुना फिर्ने गर्छिन् ।
उनको बुबा पहिलेदेखि सवारीचालकको काम गर्थे । घरमा तीन छोरी भएका कारण बुबाकै सहयोगमा चालक बनेको उनी बताउँछिन् । सुरुमा बुबाले नजिकैको दूरीमा गाडी चलाउन सिकाएपछि उनले बिस्तारै राम्रोसँग चलाउन थालिन् । छोरीले राम्रोसँग गाडी चलाउन जानेपछि छोरीलाई चलाउन दिएको फुर्वा शेर्पाले बताए ।
‘मलाई बुबाले नै गाडी चलाउन सहयोग गर्नुभएको छ । परिवारको साथ पाएरै म राम्रोसँग गाडी चलाउन सक्ने र यही पेसा गर्न सक्ने भएकी छु,’ उनले भनिन्। छेकीले गाडी चलाउँदा केही यात्रुहरूले सुरुमा विश्वास गर्दैनथे । उनले चलाएको गाडीमा चढ्नै मान्दैनथे । तर, हिजोआज यात्रुहरूले छेकीमाथि यति विश्वास गर्न थाले कि उनले चलाएको गाडी खोजी–खोजी चढ्न थालेका छन् ।
उनले बर्खायाममा पनि खर्च कटाएर मासिक ३० हजारभन्दा बढी कमाउने गरेकी छिन्। बर्खामा हिलो बाटोका कारण गाडी मर्मत धेरै गर्नुपर्ने हुँदा पैसा थोरै बच्ने गरेको छ । हिउँदमा धेरै आम्दानी हुने गरेको उनको भनाइ छ । सिजनमा मासिक रु. एक लाखहाराहारी कमाउने गरेको सो क्षेत्रका सवारीचालकहरू बताउँछन् ।
कक्षा १२ सम्म अध्ययन गरेकी उनले पढ्दै गरेको समयमा पनि गाउँमा गाडी कुदाएको स्थानीयको भनाइ छ । उनले गाडी चलाएरै बहिनीलाई डाक्टर बनाउने सपना देखेकी छिन् । ‘दाजुभाइ नहुँदा सानैदेखि हामीले छोरा र छोरी दुवैको काम गर्दै आएका छौँ,’ उनले भनिन् । रोजगारीको खोजीमा धेरै नेपाली महिला बिदेसिने गरेका छन् । तर, महिलाले गाउँमै सवारीचालकको काम पनि गर्न सकिने काम रहेछ भनेर उदाहरण दिएकी छिन् छेकीले ।
जोखिमपूर्ण सडकमा पनि एकदमै सरल तरिकाले गाडी चलाउने गरेकाले यात्रुहरूले उनको गाडी रोज्ने गरेको बताउँछन् । ‘केही पुरुष चालकले मादक पदार्थ सेवन गरेर पनि सवारी चलाएको पाएका छौँ,’ स्थानीय यात्रु दावा शेर्पाले भने, ‘तर, उहाँले त मदिरा सेवनसमेत नगर्ने हुँदा हामी ढुक्कले यात्रा गर्छौँ ।’