यू-१९ महिला टी-२० विश्वकप खेल्न जाने नेपाली टोलीको बिदाइ
काठमाडौँ । मलेसियामा हुन लागेको आइसिसी यू-१९ महिला टी-२० विश्वकप खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी टोलीको बिदाइ गरेको हो ।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, क्यानका उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का लगायत क्यानका सदस्य तथा महिला सिनियर टिमकी कप्तान इन्दु बर्माले शुभकामना सहित टोलीको बिदाइ गरेका हुन् । बिदाइ कार्यक्रममा बोल्दै क्यानका सचिव पारस खड्काले टोलीलाई कुनै पनि दबाब नलिईकन खेल्न आग्रह गरे ।
मन्त्री तेजुलाल चौधरीले उमेरमा सानो भए पनि उत्कृष्ट खेल प्रदर्शन गर्नेमा विश्वास व्यक्त गरे । उनले क्यानले पछिल्लो समय गर्दै आएको कामप्रति धन्यवाद व्यक्त गर्दै विद्यालय स्तरदेखि नै खेलाडी उत्पादन गर्नका लागि विद्यालय हरूसँग पनि सहकार्य गर्न सकिने बताए ।
नेपाली यू-१९ महिला टिम शनिबार दिउँसो मलेसिया प्रस्थान गर्ने छ ।