स्वर्णलक्ष्मी सहकारी प्रकरणमा पूर्वडीआईजी जोशीसँग ५० लाख धरौटी माग
काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई ५० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
सोमबार काठमाडौं जिल्ला अदालतले ५० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । जोशीविरुद्ध यसअघि कास्की जिल्ला अदालतमा पनि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा पनि मुद्दा दायर भएको थियो । जोशी कास्की अदालतमा ८८ लाख धरौटी बुझाएर रिहा भएका थिए ।
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको थियो । यो सहकारीले ६९० बचतकर्ताको एक अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ । स्वर्णलक्ष्मी सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने ६० लाख धरौटी बुझाएर रिहा भएका थिए । स्वर्णलक्ष्मी सहकारी ठगीमै पक्राउ परेका सहकारीको लेखा समिति सदस्य सुनिता नेवा चार लाख र सञ्चालक समिति सदस्य कमल लामा तीन लाख धरौटी बुझाएर रिहा भएका थिए ।