‘सरकारले काम गर्न वातावरण बनाउने हो, काम दिने होइन’
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नेपालमा वर्षको करिब पाँच लाखलाई रोजगारी सिर्जना गर्नुपर्ने भएकाले जुनसुकै प्रधानमन्त्री भए पनि नसक्ने बताएका छन् ।
नवलपरासी पुगेका महामन्त्री थापाले प्रधानमन्त्रीले वर्षको करिब बढीमा २० हजारलाई भन्दा रोजगारी दिन नसक्ने बताए । उनले भने, ‘नेपालमा वर्षको करिब पाँच लाखलाई रोजगारी दिनुपर्छ । मानौँ कोही प्रधानमन्त्री भयो, उसले सबैलाई नेपालमा रोजगारी दिन्छु भन्यो भने पाँच लाख रोजगारी सिर्जना हुनुपर्छ । त्यो प्रधानमन्त्री भएको मान्छेले कहाँ रोजगारी सिर्जना गर्न सक्छ । प्रहरी, सेना, शिक्षकमा जागिर खुलाउँछ, अस्पतालमा करार राख्छ सबैतिर गरे पनि मुस्किलले २० हजार नाघ्दैन । ४ लाख ८० हजार मान्छे बाँकी रहन्छन् । त्यो मान्छेहरूलाई काम कसले दिन्छ ।’ उनले कहिल्यै पनि सरकारले काम दिन नसक्ने बताए ।
उनले भने, ‘काम जहिले पनि निजी क्षेत्रले दिने हो । सबैतिर हो, सरकारले काम दिन्छु भन्यो भने कसैले नपत्याउनु । सरकारले रोजगारी दिन्छु भने पनि कसैले पनि सक्दैन । सरकारले केवल वातावरण बनाउने मात्रै हो ’ महामन्त्री थापाले भने।