अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपाल र लेबनान भिड्दै
काठमाण्डौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलमा आज काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार साँझ ६ बजे नेपाल र लेबनन भिड्दै छन्। दुवै टिमले जारी लिगको दोस्रो खेल खेल्दैछन्। यसअघि पहिलो खेलमा किर्गिस्तानलाई १ ० गोलले पराजित गरेको नेपाललाई लगातार दोस्रो खेलमा जित निकालेर फाइनलमा पुग्ने अवसर छ। एक खेलअघि फाइनल पुग्न दिनको पहिलो खेलमा म्यानमारले किर्गिस्तानलाई हराउनु पर्नेछ। तुलनात्मक रूपमा कमजोर मानिएको किर्गिस्तानसँग फिनिसिङमा चुकेको नेपाललाई लेवनानविरूद्ध जित निकाल्न भने सहज छैन। अर्कोतर्फ लेवनानले आफ्नो पहिलो खेलमा बलियो मानिएको म्यानमारविरूद्ध उत्कृष्ट खेल देखाएको थियो। यद्यपी खेलमा लेवनान ३ १ गोलले पराजित भएको थियो। अघिल्लो खेलमा नेपालकी स्टार खेलाडी सावित्रा भण्डारी साम्बाले दोस्रो हाफमा मात्र खेलेकी थिइन्। सोहि दिन आइपुगेकी साम्बाले भोलिको खेलमा पर्याप्त आराम पाएकी छिन्। साम्बाले फ्रान्सबाट सोमबार विहान आइपुगेर साँझ किर्गिस्तानसँग खेलेकी थिइन्। नेपालले लेवनानसँग दोस्रो पटक खेल्न लगेको हो। यसअघि सन् २०२४ को वाफ वुमन्स च्याम्पियनसिपमा नेपाल र लेवनानले सेमिफाइनलमा प्रतिस्पर्धा गरेका थिए। सो खेलमा नेपालले २ १ गोलले जित निकालेको थियो। खेलमा नेपालले पूजा रानाको आत्मघाती गोलबाट पछि परेको थियो। तर साम्बाले ७६ मिनेटमा बराबरी गोल फर्काएकी थिइन्। साउदी अरेबियामा भएको खेलमा प्रिति राईले इन्जुरी समयको चौथो मिनेटमा गोल गरेपछि नेपालले जित निकालेको थियो। प्रतियोगिताका सबै खेल फिफा अन्तर्राष्ट्रिय विन्डोजमा हुने भएकाले खेलहरूले अन्तर्राष्ट्रिय मान्यता हुनेछ। प्रतियोगिताका खेलहरू राउन्ड रोबिन आधारमा खेलिनेछ भने शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ। खेलहरू दिनको २ र साँझको ६ बजे खेलिनेछ। प्रतियोगिताको टिकट दर साधारण पारापिटतर्फ ५०० र भिआइपीतर्फ एक हजार तोकिएको छ। टिकट खल्ती एपबाट किन्न सकिनेछ। प्रतियोगिताको लिग चरण र फाइनल गरी नौ दिनमा चार दिन म्याच डे हुनेछन्। नेपालले अब फागुन ११ मा म्यानमारसँग खेल्नेछ।
नेपाली टोली
गोलकिपर
एञ्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ
डिफेन्डर
अमृता जैशी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समिक्षा घिमिरे, बिमला चौधरी, मनमाया दमाई
मिडफिल्डर
अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरू लिम्बु, सविता राना मगर, रेनुका हमाल, सुष्मा तामाङ
फरवार्ड
सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, रेखा पौडेल