नवजीवन सहकारीको चामल काठमाडौंमा बिक्री सुरु
काठमाडौं । कैलालीको धनगढीमा केन्द्रीय कार्यालय रहेको नवजीवन सहकारीले आफ्नै ब्रान्डमा उत्पादन गरेको चामल काठमाडौंमा पनि ल्याएको छ । सहकारीका अध्यक्ष देबहादुर बमका अनुसार २५ केजीका सय बोरा चामल काठमाडौंमा ल्याएर बिक्री सुरु गरिएको छ । सहकारीले चामल बजारीकरणका लागि काठमाडौंमा सेयर सदस्य र सरोकारवालासँग छलफल गरेर आफ्नो उत्पादनबारे जानकारी दिएको हो । अध्यक्ष बमका अनुसार कैलालीको गोदावरी नगरपालिका ८ मजगाउँमा रहेको खाद्य उद्योगबाट उत्पादित मोटो र मसिनो चामल बिक्री भइरहेको छ। यसअघि सहकारीका १० वटै सेवा केन्द्रबाट बिक्री भइरहेकोमा अब काठमाडौंमा पनि बिक्री थालिएको उनले बताए । ‘काठमाडौंमा बजारको अवस्था हेरेर डिलर र सब डिलरसँग जोड्नेछौँ । ‘आगामी असारभित्र काठमाडौंमा पनि सेवा केन्द्र सञ्चालन हुँदैछ । यसले बजारीकरणमा अझ सहयोग पुग्छ ।’ सहकारीले कैलाली, कञ्चनपुर र बर्दियाका १० ठाउँमा सेवा केन्द्रमार्फत सहकारी कारोबारसँगै चामल बिक्री गरिरहेको छ। सहकारीले पहिलो चरणमा १६ हजार २८ क्विन्टल धान खरिद गरेको थियो । हालसम्म कैलाली, कञ्चनपुर र बर्दियामा ६ सय क्विन्टल चामल बिक्री भइसकेको जनाइएको छ । २५ किलोग्राम मोटो चामलको एक हजार ४ र मसिनो चामलको २ हजार २ सय मूल्य निर्धारण गरिएको छ । तर, काठमाडौंमा खुद्रा बजारमा भने मोटो चामलको भाउ १७ सय र मसिनो चामलको २५ सय पर्ने अध्यक्ष बमले बताए । सहकारीले पहिलो वर्ष मोटो र मसिनो मात्र बजारमा ल्याएकामा आगामी वर्षदेखि मसिनो र मोटोको पनि गुणस्तर छुट्याएर बजारमा ल्याउने योजना बनाएको छ ।
सहकारीले मजगाउमा एक करोड दुई लाखको लागतमा पाँच हजार क्विन्टल क्षमताको गोदाम घर निर्माण गरिसकेको छ भने राइस मिल प्लान्ट र ट्रान्सफर्मर स्थापना भएको छ । पहिलो चरणमा चामल उत्पादन थालेको सहकारीले तोरीको तेल, मसुरोको दाल, गहुँको आटा र पिउने पानीसमेत उत्पादन गर्ने योजना बनाएको छ। ‘तोरीको तेल र मुसुरोको दाल चाँडै बजारमा आउँछ, त्यसपछि क्रमशः अरु उत्पादन ल्याउने योजना छ,’ अध्यक्ष बमले भने, ‘सहकारीका ३६ हजार सेयर सदस्य छन् । अर्गानिक र गुणस्तरीय खाद्यवस्तु पुर्याउने हाम्रो लक्ष्य हो । खाद्य उत्पादनले किसानसँग जोडिन पनि सहयोग पुग्नेछ ।’ नवजीवन सहकारीका संस्थापक सञ्चालकसमेत रहेका बागमतीका प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सहकारीले आमकिसानलाई जोडर उत्पादनमा लाग्नुपर्ने बताए । ‘नवजीवनले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका लाखौँ नागरिकको आर्थिक जीवनस्तर उकास्न भूमिका खेलेको छ, सहकारीले खाद्य उत्पादन थालेको देख्दा खुसी लाग्यो,’ उनले भने, ‘सहकारीको मर्म अनुसार चलेका सहकारी विचलित भएका छैनन् । केही सहकारीका कारण समग्र सहकारीमाथि हिलो छ्याप्न हुँदैन ।’ २०५० सालमा स्थापना भएको नवजीवनका हाल सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशमा १० सेवा केन्द्र छन् । सहकारीमा ३१ करोड ३४ लाख सेयर पुँजी छ भने ५ अर्ब ७३ लाख ६४ हजार निक्षेप छ ।