बगरफाँटमा खानेपानीको समस्या
काठमाडौँ । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका बासिन्दा खानेपानीको समस्या समाधान नहुँदा वाक्कदिक्क छन् । केही दिनअघिदेखिको वर्षाका कारण मरुवा, उपल्लो खन्ना र बाङ्गे छहरोमा गएको बाढी तथा पहिराले मुहान र पाइप लाइन बगाउनुका साथै मुहानमा गेगर थुप्रिएर थुनिएपछि यहाँका २०८ घरपरिवारलाई खानेपानीको चरम समस्या भएको हो । यस बीचमा पाइपको सामान्य मर्मत गरेर केही दिन पानी सञ्चालन गरिएको भए पनि लगातारको वर्षाका कारण आएको बाढीले पाइपमा क्षति पु¥याएपछि बगरफाँटका बासिन्दा विगत दुई महिनादेखि खोला र कुवाँको पानी पिउन बाध्य छन् ।
गाउँमा रहेका २८ धारामा पानी नआएपछि यहाँका बासिन्दा कुँवा र म्याग्दी नदीको धमिलो पानी उमालेर पिउन बाध्य भएका बेनी–२ बगरफाँटका टेकबहादुर कार्कीले बताए । सो स्थानमा २१४ घरधुरी छन् । वि.सं २०६९ मा बेनी–३ भकिम्ली र बेनी–२ ज्यामरुककोटका सिमानामा पर्ने कोप्रेखोलाको मुहानबाट पानी ल्याई बगरफाँटका २८ धारामा वितरण गरिएको थियो । ५४ लाखको लागतमा बगरफाँट खानेपानी तथा सरसफाइ आयोजनाले योजना सम्पन्न गरी गाउँमा खानेपानीको सुविधा उपलब्ध गराएको थियो ।
यसपछि बर्सेनि बर्खाका समयमा बाढी र पहिराले पाइप लाइनलाई क्षति पुर्याउँदा मर्मत गरी पानी सञ्चालन गर्ने गरिएकामा यस वर्ष भने पाइप लाइन र मुहानलगायत सात ठाउँमा मर्मत गर्नुपर्ने भएकाले समस्या भएको आयोजनाका अध्यक्ष कृष्णबहादुर कार्कीले बताएका छन् । गाउँका पुछारमा म्याग्दी नदी र शिरानमा आप्रे, उडाइनो, मुलछहरी, कोप्रेझरनालगायतका पानीका आधा दर्जन बढी स्रोत रहेका भए पनि ती पानीका स्रोतलाई व्यवस्थित गर्न नसक्दा यहाँका बासिन्दाले वर्षौँदेखि खानेपानीको समस्या झेल्दै आएका छन् ।