नेपालगञ्ज र कोहलपुरमा दाजुभाइको भिडन्त
नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकामा एकै घरका दुई दाजुभाइले मनोनयन दर्ता गरेका छन् । उपमहानगरपालिका–१ मा फरक–फरक पार्टीबाट दाजुभाइले उम्मेदवारी दर्ता गराएका हुन् ।
सो वडाको वडाध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट विनोद रिजाल र नेकपा (एमाले)को तर्फबाट प्रमोद रिजालले उम्मेदवारी दिएका छन् । कांग्रेसबाट उम्मेदवारी दिएका विनोदले २०४६ देखि विद्यार्थी राजनीति सुरु गरेका हुन् । उनि हाल तरुण दल बाँकेको सचिव छन् ।
विनोदका प्रतिस्पर्धी आफ्नै सहोदर भाइ प्रमोद अघिल्लो कार्यकालको पनि वडाध्यक्ष छन् । उनि उपमहानगरपालिकाको प्रवक्ता समेत थिए । वडाध्यक्ष हुनुअघि प्रमोद कानुन व्यवसायी थिए ।
त्यस्तै कोहलपुर नगरपालिकामा पनि दुई सहोदर दाजुभाइबीच प्रतिस्पर्धा हुने भएको छ । नगरपालिकाको वडा नं ३ मा भाइ माधव रिजाल र दाजु तारकेश्वर रिजालबीच प्रतिस्पर्धा हुने भएको छ । माधव २०७४ सालमा निर्वाचित वडाध्यक्ष हुन् भने दाजु तारकेश्वर त्यतिबेला उनिसँग ६५ मतले पराजित भएका थिए । माधव एमालेबाट तथा तारकेश्वर नेकपा (माओवादी) केन्द्र-बाट वडाध्यक्षका लागि भिड्दै छन् । जिल्लाको आठ स्थानीय तहमा ४२१ पदका लागि दुई हजार ३२९ जनाको उम्मेदवारी परेको छ ।