एमालेको बन्दसत्र दिउँसो १ बजेदेखि
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेन । दिउँसो १ बजेदेखि मात्र बन्दसत्र सुरु हुने एमाले नेताहरूले जानकारी दिएका छन् । काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र यसअघि आजै बिहान साढे ७ बजेदेखि सुरु हुने भनिएको थियो ।
तर, बन्दसत्र सुरु हुने समय सारिएको हो । यति बेला केन्द्रीय कमिटीको बैठक बस्ने तयारी छ । केन्द्रीय कमिटीको बैठक पनि निर्धारित थिएन, आकस्मिक रूपमा बस्न लागेको हो । केन्द्रीय कमिटीको बैठकपश्चात् बन्दसत्र सुरु हुने नेताहरूले बताएका छन् । बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीलगायत नेताले बोल्नेछन् । त्यसपछि नेतृत्व चयनको तयारी गरिनेछ ।
















