रिलायन्स स्पिनिङ मिल्सले पुस ७ गतेदेखि सर्वसाधारणमा आईपीओ बिक्री खुला गर्ने

काठमाण्डौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले सर्वसाधारणका लागि पुस ७ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्कासन गरेको आईपीओको प्रि–अलोटमेन्ट पश्चात अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ९ लाख २४ हजार ७६८ कित्ता साधारण शेयर निष्कासन गर्नेछ। कम्पनीले कुल ११ लाख ५५ हजार ८६० कित्ता साधारण शेयर सार्वजनिक निष्कासनका लागि स्वीकृति पाएको थियो। यसमध्ये ५ प्रतिशत अर्थात ५७ हजार ७८८ कित्ता शेयर सामूहिक लगानी कोषहरूका लागि बाँडफाँड भइसकेको छ।

यस्तै, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि छुट्याइएको १० प्रतिशत अर्थात १ लाख १५ हजार ५४६ कित्ता शेयरको पनि प्रि–अलोटमेन्ट सम्पन्न भइसकेको कम्पनीले जनाएको छ। त्यसैगरी, कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरिएको ५ प्रतिशत अर्थात ५७ हजार ७८८ कित्ता शेयर कट्टा गरी बाँकी रहेको ९ लाख २४ हजार ७६८ कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्कासन गर्न लागिएको हो। आईपीओमा आवेदन दिन चाहने लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्। यसका साथै, ‘मेरो शेयर’ प्रणालीमार्फत अनलाइन आवेदनको सुविधा पनि उपलब्ध गराइएको छ। लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतम २० हजार कित्तासम्म शेयरका लागि आवेदन दिन सक्नेछन्। यो आईपीओ छिटोमा पुस ११ गते र ढिलोमा पुस २१ गते बन्द हुने छ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *