सहकाली साकोसले रक्तदान कार्यक्रम गरी मनायो स्थापना दिवस
काठमाडौँ । सहकाली बचत तथा ऋण सहकारी संस्थाले स्थापना दिवसको अवसरमा बृहत् खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कागेश्वरी मनहरा नगरपालिकाको काँडाघारीमा अवस्थित उक्त संस्थाले १६औं स्थापना दिवसको अवसर पारेर बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरको प्राविधिक सहयोग गरिएको कार्यक्रममा ९७ जनाले रक्तदान गरेका थिए । संस्थाका अध्यक्ष राधेश्याम खड्काको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका संस्थाका सञ्चालक समिति, लेखा समिति, कर्मचारी र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष खड्काले बताए । अहिले पनि विरामी, घाइते तथा सुत्केरीहरुका लागि अत्यावश्यक पर्ने रगतको अभाव कायमै रहेको अवस्थामा संस्थाले केहिमात्रामा भएपनि रगतको अभावलाई कम गर्ने उद्देश्यका साथ रक्तदान गरिएको उनले जानकारी दिए ।
संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गन विगतमा पनि सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण, बाटोघाटो निर्माण, किरियापुत्री भवन निर्माणमा आर्थिक सहयोग जस्ता थुप्रै क्रियाकलाप गर्दै आएको छ । आफ्नै सुविधासम्पन्न भवनबाट सदस्यहरुलाई आधुनिक र प्रविधिमैत्री वित्तीय सेवा संस्थाले प्रदान गर्दै आएको छ । सदस्य र समुदाय केन्द्रीत रहेर वित्तीय कारोबार गर्दै आएको संस्थामा हालसम्म ४३०० सदस्य, ११ करोड ३२ लाख ९१ हजार शेयरपुँजी, १८ करोड ५ लाख जगेडा तथा अन्य कोष र २ अर्ब २५ करोडको कुल सम्पत्ति पुगेको छ ।