एक सय ६७ मत प्राप्त गर्दै सभामुखमा एमालेका घिमिरे निर्वाचित

काठमाडौँ । प्रतिनिधिसभाको सभामुख पदमा नेकपा (एमाले)का उम्मेदवार सांसद देवराज घिमिरे निर्वाचित भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनलाई मतदान गर्ने पक्षमा एक सय ६७ मत खसेको थियो । उक्त प्रस्तावकको विपक्षमा एक सय मत खसेको थियो । मतदानमा दुई सय ६८ले भाग लिएका थिए । एक जनाले मत दिएनन् ।

मतदान प्रक्रियापछि प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले मत विभाजनको नतिजाबारे जानकारी दिँदै सदनको हाल कायम सङ्ख्याको बहुमत प्राप्त गरेकाले घिमिरे सभामुखमा निर्वाचित भएको घोषणा गरेका छन् ।

घिमिरेको प्रस्तावकमा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ र समर्थकमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका प्रमुख सचेतक हीतराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन एवं राष्ट्रिय स्वजतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने थिए । नेपाली कांग्रेसका ईश्वरीदेवी न्यौपानको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा (एकीकृत समाजवादी)का नेता प्रकाश ज्वाला थिए ।

एमालेका घिमिरेलाई सत्ता साझेदार एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्तवन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलगायत राजनीतिक दल तथा केही स्वतन्त्र सांसदको समर्थन रहेको थियो ।

वि.सं २०१३ मा ताप्लेजुङमा जन्मिएका घिमिरे २०५६ देखि २०६० सालसम्म राष्ट्रियसभा सांसद थिए । उनि प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७९ मा झापा क्षेत्र नं २ बाट निर्वाचित भएका थिए । उनले विद्यार्थी सङ्गठनबाट राजनीति सुरु गरेका थिए । उनि वि.सं २०४९ मा एमालेको केन्द्रीय सदस्य थिए । घिमिरेले एमालेको स्वास्थ्य विभागको अध्यक्ष भएर काम गरेका थिए । हाल उनि एमालेको स्थायी समिति सदस्य र प्रदेश नं १ को इञ्चार्ज थिए ।

सङ्घीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गर्ने संवैधानिक व्यवस्था छ । प्रतिनिधिसभाको पहिलो बैठक गत पुस २५ गते बसेको थियो । नेपाली जनताको सर्वभौमसत्ता सम्पन्न सर्वोच्च थलोका रुपमा प्रतिनिधिसभा रहिआएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *