‘सरकारले श्रमिकको बढेको पारिश्रमिक पाउने वातावरण बनाउनुपर्छ'( अन्य सदस्यले के के भने ?)

काठमाडौँ । प्रतिनिधिसभा सदस्य डोलप्रसाद अर्यालले सरकारले श्रमिकको बढेको पारिश्रमिक पाउने वातावरण बनाइदिनुपर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बाल्दै प्रतिनिधिसभा सदस्य अर्यालले सरकारले श्रमिकहरुको पारिश्रमिक बढाउनु सकारात्मक भएको बताए । उनले उद्योगी, व्यवसायीले बढेको पारिश्रमिक लागू गर्न नसक्ने बताइरहेको भन्दै बढेको पारिश्रमिक लागू गर्न सरकारले वातावरण बनाइदिनुपर्ने बताए । उनले पारिश्रमिक वृद्धि लागू गर्न नसके राम्रो सन्देश नजाने बताए ।

सभा सदस्य तेजुलाल चौधरी ८ वर्ष अघि टिकापुरमा थारुहरुको आफ्नो हक, अधिकार, पहिचान र भूगोलका लागि राजनीतिक आन्दोलन भएको भएपनि थारुहरु जेल जीवन बिताउनुपरेको उल्लेख गर्दै उनीहरुलाई जेलमुक्त गर्न माग गरे । उनले थारुहरुमाथि राज्यले दमन र विभेद गरेको भन्दै थारुहरु पुनः जुर्मुराउनसक्ने बताए ।

सदस्य दीपा शर्मा :

चिकित्सा शिक्षा र प्राविधिक शिक्षामा देखिएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराइन् । उनले सिटिइभिटी अन्तर्गतबाट सञ्चालित क्याम्पस सञ्चालकहरु आन्दोलित भइरहेको भन्दै यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराइन् ।

सदस्य दुर्लभ थापा क्षेत्री :

भक्तपुरमा बालसुधार गृहमा कमल बस्नेतको निधन भएको घटनाको सत्यतथ्य बाहिर ल्याइ घटनामा संलग्नलाई कारबाही गर्न माग गरे । उनले मृतकका परिवारलाई क्षतिपूर्ति दिन पनि माग गरे ।

सदस्य देवप्रसाद तिमल्सिना :

रौतहटको श्रीराम सुगर मिल २ वर्षदेखि बन्द भएको भन्दै तत्काल सञ्चालन गर्न सरकारसँग माग गरे ।

सदस्य प्रकाशमान सिंह :

काठमाडौँ उपत्यकाका २२ नदीहरुलाई व्यवस्थापन गर्न काठमाडौँ उपत्यका नदी व्यवस्थापन गुरु योजना बनाएर काम अगाडि बढाउनुपर्ने बताए । उनले उपत्यकालाई हरियो तथा वातावरणमैत्री बनाउनका लागि सरकारको ध्यानाकर्षण गराए ।

सदस्य प्रदीप पौडेल :

इन्जिनियरिङ अध्ययन संस्थानमा २०० प्रतिशत शुल्क वृद्धि गरेको भन्दै शुल्क वृद्धिको निर्णय फिर्ता लिन माग गरे । उनले शुल्क वृद्धि अस्वाभाविक भएको बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *