महिला सङ्घको नेतृत्वमा महिला आफै अगाडी आउन आँट नगरेको हो ः थापा


भक्तपुर । नेपाल महिला संघ भक्तपुरको आयोजनामा भएको शुभकामना आदान प्रदान तथा टिका कार्यक्रममा बोल्दै नेपाली काँग्रेस भक्तपुर जिल्लाका जिल्ला सभापति तथा प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले नेपाल महिला सङ्घको नेतृत्वमा महिला आफै अगाडी आउन आँट नगरेको बताउनुभएको छ । उहाँले महिला सङ्घको जिल्ला सभापतिका लागि कोही पनि तयार नभएको आरोप लगाउनुभएको छ । उहाँले भक्तपुर महिला सङ्घको नेतृत्वको लागि केन्द्रमा म हुनु पर्‍यो भन्दै कोही कोही गएको गाई गुईँ सुनिए पनि म नेतृत्व गर्न तयार छु म अधिवेशन गर्न तयार छु भन्ने हिम्मतका साथ कोही अगाडी नआएको उहाँले आरोप लगाउनुभएको हो । यस्तै कार्यक्रममा बोल्दै उहाँले अबको राजनीति महिलाहरूको अहम् भूमिका हुने बताउँदै आम दिदी बहिनीहरूमा राजनीतिमा आउन समेत उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा शुभकामना तथा टिका लगाई दिँदै उहाँले दसैँ प्रत्येक नेपालीलाई एकताको सूत्रमा बाँध्ने चाडको रूपमा रहेको समेत बताउनुभएको थियो ।

उहाँले हाल संविधान माथि धावा बोल्ने गतिविधि बढेको छ यसको निराकरणको लागि आम नेपाली लाग्नु पर्ने बताउँदै यसमा अझ बढी जिम्मेवारी महिलाले लिनु पर्ने समेत बताउनुभएको थियो । उहाँले नेपाली काँग्रेसमा गुट उपगुटको राजनीति चलेको छ चल्छ पनि तर पार्टी, पार्टीको नीति नियम भन्दा बाहिर गएर गतिविधि गर्न भने छुट नभएको बताउनुभयो । उहाँले छाडा तन्त्र नै मान्ने हो भने दुर्गा पर्साइको पार्टीमा लागे भई हाल्यो नत्र अनुशासनमा बस्नु पर्छ भन्नुभयो । यस्तै कार्यक्रममा बागमती प्रदेश वन तथा वातावरण मन्त्री मसिना खड्का भण्डारीले महिलाहरूलाई संविधानले दिएको अधिकार प्रयोग गर्न पछाडि हट्न नहुने बताउनुभयो । उहाँले महिलाहरूको लागि संविधानले नै अधिकार दिएको छ त्यसलाई प्रयोग गर्दै महिलाहरू पनि सक्षम छन् भन्दै राजनीतिमा आउनु पर्ने बताउनुभयो ।

यस्तै कार्यक्रममा नेपाल महिला सङ्घ भक्तपुरकी सभापति सरु बानियाँले महिलाहरूलाई राजनीतिमा आउन कठिन भएको बताउनुभयो । उहाँले पार्टीमा काम गर्ने महिलाहरूलाई टिम पोलिटिक्सले कता कता पुञ्याउने भएका कारण उहाँहरू निराश भएको समेत बताउनुभयो । उहाँले अबको अवस्थामा वडा अध्यक्षमा समेत महिलाले दावा गर्ने गरी अगाडी बढ्न उहाँले आग्रह गर्नुभएको थियो । महिला सङ्घको कार्यक्रममा प्रदेशसभा सदस्य, तरुण दल, नेपाल विद्यार्थी सङ्घ लगायतका विभिन्न तहमा केन्द्रीय सदस्य हुनुभएकाहरूलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा बागमती प्रदेश सभा सदस्य एवं वन तथा वातावरण मन्त्री मसिना खड्का भण्डारी, तरुण दल केन्द्रीय सदस्य धर्मराज कार्की, नेविसंघ केन्द्रीय सदस्य आकाश कार्की, नेविसंघ केन्द्रीय सदस्य विवेक लामिछाने लगायत भक्तपुरबाट तरुण दल केन्द्रीय सदस्यहरूमा मनोनीतहरू, नेविसंघमा मनोनीत तथा स्ववियू निर्वाचनमा निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्मान समेत गरिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *