टिकटक प्रतिबन्ध रिट : सर्वोच्च अदालतका न्यायाधीशद्वय माथेमा र शर्माको इजलासमा
काठमाडौं । टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयविरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ । त्यसका लागि सर्वोच्च अदालतका न्यायाधीशद्वय सुस्मालता माथेमा र विनोद शर्माको संयुक्त इजलासमा पेशी तोकिएको छ ।
टिकटकले समाजमा नकारात्मक असर पारेको भन्दै सरकारले कात्तिक २७ गते बन्द गर्ने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, स्वागत नेपाल लगायत अधिवक्ताहरुले सर्वोच्चमा १४ वटा रिट दायर गरेका छन् ।
रिट निवेदनहरुमा टिकटक प्रतिबन्धका कारण संविधानले ग्यारेन्टी गरेको अभिव्यक्ति स्वतन्त्रताको हक कुण्ठित हुन गएकाले सरकारको निर्णय खारेजीको माग गरिएको छ ।
त्यस्तै सरकारको निर्णय कार्यान्वयनका लागि नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई पठाएको पत्राचार पनि बदरको माग गरिएको छ । धेरै नागरिकले टिकटकमार्फत् सूचना पाइरहेको समयमा टिकटक प्रतिबन्धले सूचनाको हक हनन गरेको रिटमा दाबी गरिएको छ ।
यसअघि सर्वोच्च अदालतले मंसिर ५ गते टिकटक बन्दको सन्दर्भमा सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो । न्यायाधीश विनोद शर्माको इजलासले टिकटक प्रतिबन्धनबाट कसैलाई अपुरणीय क्षति नपुगेको ठहर गर्दै अन्तरिम आदेश जारी गर्न भने अस्वीकार गरेको थियो ।